काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय भेटवार्ता भएको छ।
बाङ्गाको निमन्त्रणामा अमेरिका पुगेका मन्त्री वाग्लेले भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण, आर्थिक सुधार, बीमा तथा सामाजिक संरक्षणका लागि करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनबारे छलफल गरेका छन्।
बाङ्गाले बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणमा विश्व बैंकबाट सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले नेपाल सरकारले अघि बढाएका नीतिगत तथा संस्थागत सुधारको प्रशंसा गर्दै पूर्वाधार लगानी बढाउन र स्वदेशमै रोजगारी सिर्जना गर्न जोड दिए।
विश्व बैंकले एडीबी र आईएफसीसहितका विकास साझेदारसँग सहकार्य गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्ने नयाँ पहल गर्ने जनाएको छ।
नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार पछिल्लो तीन दशकमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।