काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक घटेर ०.४७ प्रतिशत अर्थात ९.५४ अंकले घटेर २०१७.९७ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६० प्रतिशतले घटेर ३५८.०९ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको ८४ लाख ९० हजार ७२२ कित्ता सेयर ३ अर्ब ७० करोड ८४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेलले भन्छन्, ‘आजको करेक्सन सामान्य नाफा बुक मात्रै हो । सरकारले नीति तथा कार्यक्रममा पनि पूँजी बजारको विषयलाई सम्बोधन गरेको छ । त्यसैले लगानीकर्ता आशावादी हुनुको विकल्प छैन । अर्थमन्त्रीले पनि ढुक्क भएर लगानी गर्न बोलिसकेका कारण बजेट र मौद्रिक नीतिबाट पनि केहि सुधारको अपेक्षा गर्न सकिन्छ ।’
बजार न्यून विन्दुमा भएका कारण बजार यो भन्दा तल नजाने फुल्लेलले बताए ।
अर्का बजार जानकार विरेन्द्र विष्टले पनि आजको करेक्सन नाफा बुकका कारण भएको बताए । उनले बजार केहि करेक्सन हुँदै पुनःमाथि नै लाग्ने दाबी गरे ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य १० वटा समूहमा रातो पोतिएको छ ।
आज उत्पादन तथा प्रशोधन समूह १.४० प्रतिशत,व्यापार समूह १.१६ र म्युचुअल फण्ड समूह ०.१७ प्रतिशतले बढ्यो ।
आज बैंकिङ समूह ०.५४ प्रतिशत, विकास बैंक ०.९६, वित्त ०.३८, होटल ०.८०, हाईड्रो ०.८०,लगानी ०.७०, जीवन बीमा ०.१९,लघुवित्त ०.६३,निर्जीवन बीमा ०.३४ र अन्य समूह ०.९४ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन पिपुल्स पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ११ करोड ८९ लाख बढीको सेयर कारोबार भयो ।
त्यस्तै आज नेपाल फाइनान्सको १० करोड ९४ लाख,सांग्रिला डेभलपमेन्ट बैंकको ७ करोड ९८ लाख,सोनापुर मिनरल्सको ७ करोड ८२ लाख र शिवम् सिमेन्टको ७ करोड १६ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
यो दिन उपकार लघुवित्त र युनिक नेपाल लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । यी कम्पनीहरुको सेयरमूल्य आज १० प्रतिशतले बढ्यो ।
त्यस्तै आज माण्डु हाईड्रोको सेयरमूल्य ६.०३ प्रतिशत,बुद्धमूमि नेपाल हाईड्रोको ५.६९ र सुपरमाई हाईड्रोको सेयरमूल्य ४.४० प्रतिशतले बढ्यो ।
आज गुराँस लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । यो दिन ओरियण्टल होटल्सको सेयरमूल्य ५.५८ प्रतिशत र सिईडिबि हाईड्रोको सेयरमूल्य ४.०३ प्रतिशतले घट्यो ।