काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले धम्मिका प्रसादलाई मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ।
यससँगै प्रसादले आगामी सिजनमा पनि विराटनगर किंग्सको प्रशिक्षण तथा रणनीतिक नेतृत्व सम्हाल्ने भएका छन्।
श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर प्रसादले आफ्नो खेलाडी जीवनमा श्रीलंकाको राष्ट्रिय टोलीबाट टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्। तीव्र गतिका पूर्व बलर प्रसादले श्रीलंकाका लागि २५ टेस्ट, २४ एकदिवसीय र १४ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
खेलाडी जीवनपछि प्रशिक्षणमा सक्रिय प्रसादले विभिन्न अन्तर्राष्ट्रिय टोलीसँग काम गरिसकेका छन्। उनले अमेरिका राष्ट्रिय क्रिकेट टोलीमा सहायक तथा बलिङ प्रशिक्षकका रूपमा काम गर्नुका साथै नेपाल र ओमान राष्ट्रिय क्रिकेट टोलीको बलिङ प्रशिक्षकको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
फ्रेन्चाइज क्रिकेटमा पनि उनको अनुभव छ। प्रसादले लंका प्रिमियर लिगमा कोलम्बो किंग्सको बलिङ प्रशिक्षक, क्यानडा ग्लोबल टी–२० मा सहायक प्रशिक्षक तथा अन्य फ्रेन्चाइज टोलीमा प्रशिक्षकीय भूमिका निर्वाह गरेका छन्। उनले महिला फ्रेन्चाइज क्रिकेट र अन्य व्यावसायिक लिगमा पनि प्रशिक्षकका रूपमा काम गरेका छन्।
विराटनगर किंग्सले प्रसादको अन्तर्राष्ट्रिय अनुभव, विशेषगरी बलिङ प्रशिक्षण, खेलाडी विकास र टोली व्यवस्थापनमा रहेको दक्षतालाई ध्यानमा राख्दै उनलाई एनपीएलको तेस्रो संस्करणका लागि निरन्तरता दिएको जनाएको छ।
विराटनगर किंग्समा पुनः जिम्मेवारी पाउँदा प्रसादले खुसी व्यक्त गरेका छन्।
उनले भने, “विराटनगर किंग्ससँग यो सिजन पनि जोडिन पाउँदा म निकै खुसी र उत्साहित छु। गत सिजन हामी प्लेअफबाट बाहिरिँदा निकै पीडादायी र निराशाजनक अनुभव भएको थियो। हामीले धेरै मेहनत गरेका थियौँ, तर अपेक्षित नतिजा हासिल गर्न सकेनौँ। त्यो अनुभवले यसपटक हामीलाई अझ बलियो र प्रतिबद्ध बनाएको छ। यसपटक हामी आफ्नो उत्कृष्ट प्रदर्शन दिनेछौँ र ट्रफीका लागि अन्तिम बलसम्म लड्नेछौँ।”
एनपीएल सिजन–३ को तयारीअन्तर्गत विराटनगर किंग्स हाल भारतको उत्तर प्रदेशस्थित एक क्रिकेट एकेडेमीमा प्रशिक्षणमा रहेको छ। टोलीले त्यहाँ रणजी ट्रफी खेलिसकेका भारतीय खेलाडीहरूसँग अभ्यास खेल खेलिरहेको छ।
प्रसादले भारतमा टोलीको तयारी राम्रो भइरहेको बताए।
“भारतमा हाम्रो प्रशिक्षण राम्रो भइरहेको छ। खेलाडीहरूले राम्रो अभ्यास पाइरहेका छन्। रणजी ट्रफी खेलेका अनुभवी खेलाडीहरूसँग अभ्यास खेल्दा हाम्रो तयारी अझ मजबुत भइरहेको छ। एनपीएलका लागि उत्कृष्ट तयारी गर्ने लक्ष्यमा छौँ,” उनले भने।
विराटनगर किंग्सले प्रसादको नेतृत्वमा एनपीएलको तेस्रो संस्करणमा बलियो प्रदर्शन गर्दै उपाधिका लागि प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको जनाएको छ।
विराटनगर किंग्सका टिम डाइरेक्टर सिपेन यौधरले प्रसादलाई निरन्तरता दिनुले टोलीको रणनीतिक निरन्तरता र तयारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।