गोरखा। बुढीगण्डकी नदीमा आएको बाढीले गोरखा र आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल बगेका छन् भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार आरुघाट र धादिङको त्रिपुरासुन्दरी जोड्ने तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बाढीले बगाएको छ। त्यस्तै, धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिज पनि बगेको छ।
बाढीले माछिखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडोभर्याङ र जगत् जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुलसमेत बगाएको शर्माले जानकारी दिए।
बाढीले चुमनुब्री गाउँपालिका–३ अन्तर्गत पैयुँ र बगर गाउँका करिब ३५ घर बगाएको छ। त्यस्तै, जगत्, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा पनि क्षति पुगेको छ। बाढीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।