काठमाण्डौ । बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३, सिर्दिवासस्थित जगत गाउँको बाहिरी सम्पर्क टुटेको छ। बाढीले गाउँको माथिल्लो र तल्लो दुवैतर्फका सडक तथा पैदलमार्ग बगाएपछि स्थानीयवासी गाउँमै थुनिएका छन्।
बाढीले जगतका ९ घर बगाएको छ भने २५ घरपरिवारको आवतजावत अवरुद्ध भएको छ। मानवीय क्षति भने नभएको स्थानीय प्रशासनले जनाएको छ।
मनास्लु संरक्षण क्षेत्र आयोजना, फिलिम कार्यालयका प्रमुख भुवनराज ओझाका अनुसार बाढीले जगतबाट माथिल्लो क्षेत्रतर्फ जाने सल्लेरीको सडक तथा पैदलमार्ग पूर्ण रूपमा कटान गरेको छ। त्यस्तै, तल्लो क्षेत्रको बगरतर्फ जाने बाटोसमेत बाढीले बगाएपछि गाउँबाट बाहिर निस्कन नसकिने अवस्था सिर्जना भएको हो।
चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बाढीका कारण जगत गाउँ चारैतिरबाट सम्पर्कविच्छेदजस्तै अवस्थामा पुगेको बताए।
उनका अनुसार गाउँको तल्लो क्षेत्र कालेभिर र माथिल्लो क्षेत्र सल्लेरीतर्फका बाटो पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। यसले स्थानीयको दैनिक आवतजावतसँगै अत्यावश्यक सामग्री ढुवानीमा समेत समस्या निम्त्याएको छ।
बाढीले ९ घर बगाए पनि स्थानीयवासी सुरक्षित रहेको सापकोटाले जानकारी दिए।
गाउँपालिकाले प्रभावित क्षेत्रको क्षतिको यकिन विवरण संकलन गर्ने काम अघि बढाएको छ। तत्कालका लागि बाढीपीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन त्रिपाल तथा खाद्यान्न उपलब्ध गराउने तयारी भइरहेको छ।
दुवैतर्फका आवतजावतका मार्ग अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउनसमेत चुनौती थपिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।