काठमाडौँ । बाढीपहिरोका कारण बागमती र गण्डकी प्रदेशका विभिन्न राजमार्ग तथा सडक खण्डमा यातायात प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार केही सडकमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहे पनि गोरखाका दुई सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छन् ।
धादिङको त्रिभुवन राजपथअन्तर्गत धुनिवेशी नगरपालिका–९ खत्रीपौवामा असोज २१ गते गएको पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा छ । त्यस्तै, म्याग्दीको बेनी–जोमसोम सडकअन्तर्गत रघुगंगा गाउँपालिका–२ बैसरी र नवलपरासीको कालीगण्डकी करिडोरअन्तर्गत बौदीकाली गाउँपालिका–३ जन्ती पहिरोमा पनि एकतर्फी यातायात सञ्चालन भइरहेको छ । जन्ती पहिरोमा साना सवारीसाधन मात्र चल्न सक्ने अवस्था छ ।
मनाङमा असोज १८ गते आएको बाढीका कारण बेँसीसहर हुँदै खाङसार जाने सडक पनि एकतर्फी सञ्चालनमा छ । यता, गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ९ अन्तर्गत नयाँपुल क्षेत्रमा आइतबार आएको बाढीले सोतीस्थित फलामे पुल तथा गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध पारेको छ ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।