काठमाडौँ। अमेरिकी अर्बपति एलन मस्कले युक्रेनका केही हतियारको गति र स्पेसएक्सको स्टारलिङ्क इन्टरनेट सञ्जालसँगको सम्पर्कमा लगाइएको प्रतिबन्धमा अमेरिकी सरकारको भूमिका हुन सक्ने बताएका छन्।
रुसमाथि आक्रमण गर्न र आफ्नो आकाशको रक्षा गर्न युक्रेनले स्टारलिङ्कको प्रयोग गर्दै आएको छ। तर, मंगलबार राति अचानक नयाँ गति सीमा लागू भएपछि युद्धमैदानमा ड्रोन सञ्चालनमा समस्या आएको युक्रेनले जनाएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक सल्लाहकारले उक्त प्रतिबन्ध संयोग मात्र नभएको र किभ तथा वासिङ्टनबीच पछिल्लो समय बढेको तनावसँग सम्बन्धित हुन सक्ने बताएका छन्।
मस्कका अनुसार स्टारलिङ्कको सैन्य प्रयोजनका लागि तयार गरिएको सेवा ‘स्टारसिल्ड’ अमेरिकी सरकारको स्वामित्व र नियन्त्रणमा छ। यसको गति वा प्रयोगमा लगाइने कुनै पनि सीमा अमेरिकी सेनाले निर्धारण गर्ने र अन्ततः अमेरिकी राष्ट्रपतिले त्यसमा निर्णय गर्ने उनले बताएका छन्।
मस्कले सामाजिक सञ्जाल एक्समा युक्रेनी अधिकारीहरूले सञ्जालको सम्पर्क पुनःस्थापना गर्न गरेको आग्रहको जवाफ दिँदै यस्तो बताएका हुन्। जेलेन्स्कीले पनि बेलायती सञ्चारमाध्यमसँग कुरा गर्दै यो प्राविधिक त्रुटि वा ठूलो प्राविधिक समस्या हुन सक्ने आशा व्यक्त गरेका थिए। उनले सेवा पुनः सञ्चालन गर्न आग्रह भइरहेको बताएका थिए।
मंगलबार राति स्टारलिङ्कले गति सीमा प्रतिघण्टा १०० माइल अर्थात् करिब १६० किलोमिटरमा झारेको थियो। त्यसपछि उक्त गतिभन्दा तीव्र गतिमा चल्ने हतियारले सञ्जालसँगको सम्पर्क गुमाएका थिए। युक्रेनका पूर्वरक्षामन्त्री मिखाइलो फेदोरोभले बुधबार साँझसम्म सेवा आंशिक रूपमा पुनःस्थापित भएको जानकारी दिएका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।