काठमाण्डौ । बाढीले कारखाना नै बगाएपछि आम्दानीको स्रोत गुमाएकी नुवाकोटको विदुर नगरपालिका–४, सिमचौरकी प्रतिमा मिजारलाई व्यवसाय पुनः सञ्चालनका लागि मसला तथा बेसार पिस्ने मेसिन सहयोग गरिएको छ।
नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ (नामिया) का सदस्य तथा कन्यादेवी मेसिनरी प्रालि, नुवाकोटका सञ्चालक सिजन घिमिरेले ३३ वर्षीया मिजारलाई मेसिन पूर्ण अनुदानमा उपलब्ध गराएका हुन्।
मिजारले यसअघि घरेलुस्तरमा बेसार तथा अन्य मसला प्रशोधन गरी पाँच सदस्यीय परिवारको जीविकोपार्जन गर्दै आएकी थिइन्। तर, हालै आएको विनाशकारी बाढीले उनको कारखाना पूर्ण रूपमा बगाएपछि व्यवसाय ठप्प हुनुका साथै परिवारको नियमित आम्दानीसमेत रोकिएको थियो।
बाढीपछि व्यवसाय पुनःस्थापना गर्न आर्थिक अभाव झेलिरहेकी मिजारलाई आत्मनिर्भर बन्न सहयोग पुगोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत मेसिन हस्तान्तरण गरिएको घिमिरेले बताएका छन्।
नयाँ मेसिन प्राप्त भएसँगै मिजारले पुनः मसला तथा बेसार प्रशोधन व्यवसाय सञ्चालन गर्न सक्ने भएकी छन्। यसबाट उनको परिवारको आम्दानीको स्रोत पुनःस्थापित हुनुका साथै जीविकोपार्जन सहज हुने अपेक्षा गरिएको छ।
बाढीबाट प्रभावित परिवारलाई राहतमा मात्र सीमित नराखी पुनः आयआर्जनमा जोड्ने गरी गरिएको सहयोगप्रति मिजारको परिवार तथा स्थानीयवासीले घिमिरे र नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घप्रति आभार व्यक्त गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।