काठमाण्डौ । विजया दशमीको सार्वजनिक बिदाका क्रममा पनि काठमाडौँ जिल्ला अदालतले अत्यावश्यक प्रकृतिका सेवा प्रवाह गर्ने भएको छ।
काठमाडौँ जिल्ला अदालत, बबरमहलले सूचना जारी गर्दै दसैँ बिदाको अवधिमा शनिबार, फूलपाती र विजया दशमीको टीकाको दिनबाहेक अन्य दिन अदालत खुला रहने जनाएको हो।
अदालतका अनुसार ती दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म निश्चित सेवाहरू उपलब्ध गराइनेछन्।
दसैँ बिदामा अदालतले बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदन दर्ता गर्ने, जरुरी पक्राउ पुर्जी समर्थन गर्ने तथा पक्राउ पुर्जीसँगै उपस्थित गराइएका अभियुक्तको म्याद थपसम्बन्धी काम गर्नेछ।
त्यस्तै, कल डिटेल्स (सीडीआर) अनुमति, पक्राउ अनुमति तथा धरौटी दाखिल गर्न नसकी थुनामा पठाइएका प्रतिवादीले रकम बुझाउन ल्याएमा धरौटी बुझ्ने व्यवस्था पनि गरिएको छ।
फैसलाअनुसार तोकिएको जरिवाना तिरेर छुट्न पाउने व्यक्तिबाट जरिवाना रकम बुझ्ने सेवा पनि बिदाको अवधिमा उपलब्ध हुने अदालतले जनाएको छ।
दसैँ बिदाका कारण अत्यावश्यक कानुनी प्रक्रिया अवरुद्ध नहोस् भन्ने उद्देश्यले प्रशासन शाखामार्फत यस्तो व्यवस्था मिलाइएको अदालतको भनाइ छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।