काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक तथा प्रशासनिक क्षेत्र अस्तव्यस्त र अन्योलग्रस्त किन बनेको भन्दै प्रश्न गरेका छन् ।
विजयादशमी २०८३ को शुभकामना सन्देश जारी गर्दै उनले राज्य प्रणाली, राजनीतिक नेतृत्व, अर्थतन्त्रको गतिशीलता र प्रजातान्त्रिक आधार सुदृढ बनाउने विषयमा प्रश्न उठाएका हुन् ।
उनले वर्तमान राष्ट्रिय तथा भू–राजनीतिक परिस्थितिमा राष्ट्रियता र मौलिकताको संरक्षण गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् । देशका समस्या समाधान गर्न राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
पूर्वराजा शाहले भोटेकोशीमा आएको बाढीबाट विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रकृतिसँग सन्तुलन कायम गर्नुपर्ने बताएका छन् ।
कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्दै राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्नुपर्ने उल्लेख गर्दै उनले राष्ट्रिय स्वाभिमान र मौलिकताको रक्षा गरी सबल नेपाल निर्माण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने सन्देश दिएका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।