काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा आसपासका होटल, रेस्टुरेन्ट र खाजा घरलाई मूल्यसूची राख्न, ग्राहकलाई अनिवार्य बिल दिन र खाद्य स्वच्छता कायम गर्न निर्देशन दिएको छ।
उपभोक्ताबाट प्राप्त उजुरी तथा गुनासोका आधारमा विभागले सार्वजनिक सूचना जारी गर्दै ग्राहकले देख्ने स्थानमा मूल्यसूची राख्न, बिक्री गरिएका वस्तु तथा सेवाको वास्तविक मूल्य खुल्ने बिल उपलब्ध गराउन र खाद्यवस्तुको तयारी, भण्डारण तथा बिक्रीमा स्वच्छता र गुणस्तरसम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरेको हो।
विभागले भान्सा, भोजन कक्ष, भाँडाकुँडा, खानेपानी र शौचालय सफा राख्न तथा म्याद गुज्रिएका, दूषित र खान अयोग्य खाद्यवस्तु बिक्री नगर्न पनि निर्देशन दिएको छ।
अनुगमनका क्रममा प्रचलित कानुन तथा उपभोक्ता हित संरक्षणसम्बन्धी व्यवस्था उल्लङ्घन गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।