काठमाण्डौ । दशैं बिदा सकेर कार्यस्थल फर्किने र धान भित्र्याउने समयमा नेपालका विभिन्न क्षेत्रमा वर्षाको जोखिम बढ्ने संकेत देखिएको छ। तीन मौसमी प्रणालीको संयुक्त प्रभाव पर्न सक्ने सम्भावनाबीच आगामी बिहीबारदेखि तीन–चार दिनसम्म वर्षा हुने र केही स्थानमा भारी वर्षासमेत हुन सक्ने प्रारम्भिक पूर्वानुमान गरिएको छ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलको विश्लेषणमा हिमाली जिल्ला मनाङसहित २९ जिल्लामा वर्षासम्बन्धी जोखिम तुलनात्मक रूपमा बढी हुन सक्छ। उनले कात्तिक १२ देखि १५ गतेसम्मको अवधिमा केही स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने सम्भावना औंल्याएका छन्।
यो प्रारम्भिक आकलन भएकाले मौसमी प्रणालीको दिशा, वर्षाको समय र मात्रा तथा बढी प्रभावित हुने क्षेत्र फेरिन सक्ने पोखरेलले बताएका छन्।
पाँच प्रदेशमा बढी प्रभाव पर्ने सम्भावना
अहिलेसम्मको विश्लेषणअनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको प्रभाव बढी पर्न सक्ने देखिएको छ। कर्णाली र सुदूरपश्चिममा भने तुलनात्मक रूपमा कम प्रभाव पर्ने अनुमान छ।
पोखरेलले सार्वजनिक गरेको जोखिम नक्सामा विभिन्न जिल्लामा वर्षाको जोखिम देखाइएको छ। विशेषगरी बिहीबार रातिदेखि वर्षाको गतिविधि बढ्न सक्ने र बिहीबार रातिदेखि शुक्रबार रातिसम्म थप सतर्कता आवश्यक पर्न सक्ने संकेत छ।
कात्तिक ६–१२ का लागि जारी कृषि–मौसम सल्लाह बुलेटिनमा पनि साताको अन्त्यतिर कोशी र मधेशका केही स्थानमा वर्षा तथा कोशीको हिमाली क्षेत्रमा हिमपात बढ्न सक्ने उल्लेख छ।
तीन मौसमी प्रणालीको संयुक्त प्रभाव पर्न सक्छ
पोखरेलका अनुसार दक्षिण भारतमा कायम उत्तरपूर्वी मनसुन, बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको सम्भावित संयुक्त प्रभावले नेपालमा वर्षाको वातावरण बनाउन सक्छ।
बंगालको खाडीमा विकसित प्रणालीलाई नेपालमा वर्षा बढाउन सक्ने मुख्य कारकका रूपमा हेरिएको छ। त्यसबाट आउने जलवाष्पयुक्त हावा र माथिल्लो वायुमण्डलको अवस्थाबीचको अन्तरक्रियाले वर्षाको तीव्रता निर्धारण गर्न सक्ने उनको विश्लेषण छ।
यद्यपि, प्रणाली कुन मार्गबाट अघि बढ्छ र नेपालसम्म त्यसको प्रभाव कति पुग्छ भन्ने विषयमा थप अनुगमन आवश्यक छ। त्यसैले अहिले देखिएको संकेतकै आधारमा सबै जोखिमयुक्त जिल्लामा समान मात्रामा वर्षा हुने निष्कर्ष निकाल्न मिल्दैन।
मनाङसहित हिमाली क्षेत्रमा विशेष सतर्कता
यसपटक मनाङको मौसमी अवस्थालाई पनि विशेष ध्यान दिनुपर्ने पोखरेलले बताएका छन्। प्रारम्भिक पूर्वानुमानमा त्यहाँ भारी वर्षाको सम्भावना देखिएकाले मौसमको निरन्तर अनुगमन आवश्यक रहेको उनको भनाइ छ।
सम्भावित वर्षाले तराई–मधेशमा डुबान र पहाडी क्षेत्रमा पहिरोको जोखिम बढाउन सक्छ। हिमाली क्षेत्रमा हिमपातको सम्भावनासमेत रहेकाले पदयात्रा तथा अन्य गतिविधिको योजना बनाउँदा सावधानी अपनाउन मौसमविद्हरूले सुझाएका छन्।
मौसमविद् डा. धर्मराज उप्रेतीले बंगालको खाडीको प्रणाली थप विकसित हुँदै भारतका विभिन्न भूभाग भएर नेपालमा प्रभाव पार्न सक्ने बताएका छन्। उनका अनुसार हिमाली क्षेत्रमा भारी हिमपात तथा पूर्वी नेपालका केही जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना छ।
धान कटानी र यात्रा सार्न सुझाव
सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै उप्रेतीले आगामी बिहीबार, शुक्रबार र शनिबार धान काट्ने योजना स्थगित गर्न सुझाव दिएका छन्। दशैंपछि कार्यस्थल फर्किने तयारीमा रहेकाहरूलाई पनि शुक्रबार र शनिबार यात्रा नगर्न तथा हिमाली क्षेत्रमा पदयात्रामा नजान उनको सुझाव छ।
अर्का मौसमविद् उज्ज्वल उपाध्यायले कात्तिक ११ देखि १५ गतेसम्म लामो दूरीको यात्रा, बाली काट्ने–भित्र्याउने काम र पदयात्राको योजना स्थगित गर्न सुझाएका छन्। विशेषगरी पृथ्वी राजमार्ग र बीपी राजमार्ग हुँदै यात्रा गर्नेहरूले थप सावधानी अपनाउनुपर्ने उनले बताएका छन्।
यी सुझाव सम्भावित जोखिमको प्रारम्भिक आकलनमा आधारित छन्। आगामी दिनमा पूर्वानुमान फेरिन सक्ने भएकाले धान कटानी, यात्रा वा पदयात्राको निर्णय गर्नुअघि जल तथा मौसम विज्ञान विभागको पछिल्लो सूचना र सम्बन्धित क्षेत्रको अवस्था हेर्न मौसमविद्हरूले आग्रह गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।