काठमाण्डौ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन नागरिक र सहकारी पीडित बचतकर्ताको समस्या समाधानलाई सरकारले प्राथमिकतामा राखेको बताएकी छन्।
चितवन पुगेकी मन्त्री रावलले भूमिहीन तथा सहकारी पीडितसँग प्रत्यक्ष भेट गर्दै उनीहरूको समस्या सुन्न र सरकारले अघि बढाइरहेका काम तथा आगामी योजनाबारे जानकारी गराउन आफू त्यहाँ पुगेको बताइन्।
उनका अनुसार जनताले मन्त्री खोज्दै आउनुभन्दा सरकार स्वयं नागरिकको घरदैलोमा पुगेर समस्या सुन्नुपर्ने मान्यतासहित नयाँ कार्यशैली अघि बढाइएको छ।
भूमिसम्बन्धी समस्या समाधानमा देखिएका कानुनी जटिलता र नीतिगत अवरोध हटाउने काम भइरहेको उल्लेख गर्दै उनले दशैँ–तिहारको बीचमा सकेसम्म काम अघि बढाइने र तिहारपछि देशभर अभियानलाई थप तीव्र बनाइने जानकारी दिइन्।
मन्त्री रावलले भूमिहीनका समस्या समाधानका लागि आवश्यक नीतिगत सुधार गरिसकिएको र कार्यान्वयनका क्रममा थप सुधार आवश्यक देखिए त्यसलाई पनि सच्याएर अघि बढ्ने बताइन्।
सहकारी पीडित बचतकर्तालाई न्याय दिन सरकार सक्रिय रहेको उल्लेख गर्दै उनले सहकारीसम्बन्धी केही कानुनी अस्पष्टता हटाउन अध्यादेशमार्फत सुधार गरिएको बताइन्।
‘पीडितलाई जतिसक्दो चाँडो न्याय दिन सरकार तत्पर छ,’ उनले भनिन्, ‘नीति खराब भए नीति सच्याउनुपर्छ, नियत खराब भए त्यसलाई पनि गम्भीर रूपमा लिनुपर्छ।’
उनले चितवनसहित देशभरका भूमिहीन नागरिक र सहकारी पीडितका समस्या समाधानलाई प्राथमिकतामा राखेर सरकार अघि बढ्ने प्रतिबद्धता जनाइन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।