काठमाण्डौ । सुक्खा र कम उत्पादन हुने खेतबारीमा रामेछापका किसानले ड्रागन फ्रुट खेतीलाई आम्दानीको नयाँ विकल्पका रूपमा अपनाउन थालेका छन्।
परम्परागत अन्नबालीबाट अपेक्षित उत्पादन लिन कठिन भएपछि कम पानीमा पनि हुर्कन सक्ने ड्रागन फ्रुटतर्फ किसानको आकर्षण बढेको हो। यसले लामो समयदेखि बाँझो रहेका जमिनको उपयोगसँगै व्यावसायिक खेतीको सम्भावना पनि बढाएको छ।
ड्रागन फ्रुट खेतीका लागि पानी नजम्ने, राम्रो घाम लाग्ने जमिन उपयुक्त मानिन्छ। जमिन तयार गरेपछि सिमेन्ट वा कङ्क्रिटका खम्बा गाडेर लहरे प्रकृतिको बिरुवालाई सहारा दिइन्छ। त्यसपछि आवश्यकताअनुसार सिँचाइ, मलखाद र काँटछाँट गर्नुपर्छ।
यो फललाई धेरै पानी चाहिँदैन। तर बिरुवा हुर्कने र फल लाग्ने समयमा माटोमा आवश्यक चिस्यान कायम राख्नुपर्ने हुन्छ। पानी जम्ने स्थानमा जरा कुहिने जोखिम रहने भएकाले निकासको उचित व्यवस्था गर्नुपर्ने किसानहरूको अनुभव छ।
उचित हेरचाह गरेमा ड्रागन फ्रुटको बिरुवाले रोपेको पहिलो वा दोस्रो वर्षदेखि नै फल दिन थाल्न सक्छ।
रामेछापका विभिन्न क्षेत्रमा पछिल्लो समय ड्रागन फ्रुटका बगैँचा विस्तार भइरहेका छन्। बजारमा यसको माग बढ्दै गएको र उत्पादन बगैँचाबाटै बिक्री गर्न सकिने भएकाले किसान थप उत्साहित देखिएका छन्।
किसानले हाल ड्रागन फ्रुट प्रतिकिलो ३०० देखि ३५० रुपैयाँसम्ममा बिक्री गरिरहेका छन्। एउटै जमिनमा व्यवस्थापन मिलाएर अन्य बालीसमेत लगाउन सकिने भएकाले जमिनको अधिकतम उपयोग गर्न सकिने सम्भावना पनि छ।
सुक्खा क्षेत्रका किसानका लागि ड्रागन फ्रुट सम्भावनायुक्त नगदेबाली बन्न सक्ने देखिए पनि व्यावसायिक खेतीमा जानुअघि स्थानीय हावापानी, गुणस्तरीय बिरुवा, प्रारम्भिक लगानी र बजारको अवस्थाबारे पर्याप्त जानकारी लिनु आवश्यक हुन्छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।