काठमाण्डौ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको ऋण सञ्चालन तथा व्यवस्थापन प्रणाली (डोम्स) मा प्राविधिक समस्या आएपछि १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल रद्द भएको छ।
कार्यालयले सोमबारका लागि तय गरेको बोलकबोल प्रणालीगत समस्या देखिएपछि स्थगित गरेको हो।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका लेखा अधिकृत कृष्णप्रसाद शर्माका अनुसार प्रणालीमा देखिएको समस्या समाधान भएपछि बोलकबोल प्रक्रिया पुनः अघि बढाइनेछ।
कार्यालयले असोज ३० गते सार्वजनिक गरेको तालिकाअनुसार कात्तिक ९ गते १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल निष्काशन तथा नवीकरण गर्ने तयारी गरेको थियो।
त्यसमध्ये ९१ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्ने र १८२ दिन अवधिको अर्को ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने योजना थियो।
निर्धारित तालिकाअनुसार सोमबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बोलकबोल सञ्चालन हुनुपर्ने थियो। तर डोम्स प्रणालीमा प्राविधिक समस्या देखिएपछि प्रक्रिया अघि बढ्न नसकेको हो।
कार्यालयले प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि नयाँ मिति तय गरी बोलकबोल पुनः सञ्चालन गर्ने जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।