काठमाण्डौ । दसैँको समयमा घरधनी बाहिर गएको मौका छोपी काठमाडौँका विभिन्न घरमा चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई चोरीका सुनचाँदीका गरगहना, नगद तथा अन्य सामानसहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१४ कलङ्की तासिन्डोल मार्गस्थित एक फ्ल्याटमा कोही नभएको समयमा ढोकाको ताला फोडेर नगद तथा सुनचाँदीका गरगहना चोरी भएको थियो। त्यसैगरी कलङ्की रञ्जित कोलोनीस्थित अर्को घरमा पनि घर खाली भएको मौका पारी चोरी गरिएको थियो।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कालिमाटी बस्ने २५ वर्षीय विकास पोदार, चन्द्रागिरि सानो मन्दिर टोल बस्ने १९ वर्षीय राजु कुमार भन्ने राजु पोदार, २३ वर्षीय लल्लु पोदार भन्ने राजेन्द्र कुमार र कालिमाटी बस्ने ४६ वर्षीया बिणा देवी रहेका छन्। उनीहरू भारतको बिहारका बासिन्दा रहेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट विभिन्न किसिमका सुन तथा चाँदीका गहना, मूर्ति, सिक्का, १६ थान मोबाइल, १० थान घडी, भारु १२ हजार ३१० तथा नेपाल र भारतका विभिन्न सिक्का बरामद गरेको छ।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।