काठमाण्डौ । रुपन्देहीको बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले २४० जना कर्मचारीलाई चाडपर्व खर्चबापत ४२ लाख ५४ हजार रुपैयाँ बराबरको रकम भुक्तानी गरेको छ।
कर्मचारीले चाडपर्व खर्च नपाएको गुनासो गरेपछि श्रम तथा रोजगार कार्यालय बुटवलले असोज ३० गते अस्पताललाई पत्र पठाउँदै श्रम ऐन, २०७४ को दफा ३७ अनुसार चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिएको थियो।
उक्त कानुनी व्यवस्थाअनुसार प्रत्येक श्रमिकले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबर चाडपर्व खर्च पाउने व्यवस्था छ। एक वर्ष सेवा अवधि पूरा नभएका श्रमिकलाई सेवा अवधिको अनुपातमा रकम उपलब्ध गराउनुपर्ने प्रावधान छ।
अस्पतालले श्रम कार्यालयलाई कात्तिक ९ गते जवाफ पठाउँदै २४० कर्मचारीलाई असोज २९ गते नै एक महिनाको आधारभूत पारिश्रमिक बराबरको चाडपर्व खर्च भुक्तानी गरिसकेको जनाएको छ। अस्पतालले भुक्तानी पुष्टि हुने बैंकिङ कारोबारका प्रमाणसमेत कार्यालयमा पेस गरेको छ।
गैरनाफामुखी रूपमा सञ्चालित अस्पतालले कर्मचारीको हकहित र सेवा सुविधाप्रति प्रतिबद्ध रहेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।