काठमाडौँ । मेची करिडोर (केचना–कञ्चनजंघा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता रद्द गरिएको छ ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार २७ करोड २२ लाख रुपैयाँ लागतको आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न हुनुपर्नेमा पटकपटक म्याद थप गर्दा पनि ४७ प्रतिशत मात्र भौतिक प्रगति भएको थियो । पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम प्रगति भएपछि पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजनबाट ठेक्का सम्झौता रद्द गरेको हो ।
इलामस्थित सडक डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको छ । यस क्रममा निर्माण व्यवसायीबाट पेस्कीबापतको दुई करोड ३८ लाख रुपैयाँ असुल गरिएको छ भने ६ करोड ७९ लाखको रुपैयाँ कार्यसम्पादन जमानत जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरिएको छ ।
सडकखण्डको निर्माणलाई निरन्तरता दिन आवश्यक स्रोत सहमति र बहुवर्षीय ठेक्का सहमति प्राप्त गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइने छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।