काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चाडपर्व लक्षित सुपथ मूल्य पसलमार्फत मकवानपुरमा दसैँ अवधिसम्म ८ लाख रुपैयाँभन्दा बढीको खाद्यान्न बिक्री गरेको छ।
सरकारको निर्देशनअनुसार असोज १ गतेदेखि नुन, चिनी, तेल र मैदालगायतका खाद्य सामग्री छुट मूल्यमा बिक्री गर्दै आएको साल्ट ट्रेडिङको मकवानपुर कार्यालयले दसैँ बिदासम्म उक्त परिमाणको कारोबार गरेको हो।
कार्यालय प्रमुख मधुसुधन अधिकारीका अनुसार सर्वसाधारणले समान रूपमा छुट सुविधा पाऊन् भन्ने उद्देश्यले प्रतिव्यक्ति खरिदको सीमा पनि तोकिएको थियो।
प्रतिव्यक्ति ६ पोका नुन, ६ किलो चिनी, ५ लिटर तेल र ५ किलो मैदा उपलब्ध गराइएको थियो।
बजार मूल्यको तुलनामा चिनीमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा २ रुपैयाँ, मैदामा ७ रुपैयाँ र तेलमा प्रतिलिटर ७ रुपैयाँ छुट दिइएको थियो।
यस अवधिमा ५० किलोका ६० बोरा चिनी, १० क्विन्टल नुन, ७ क्विन्टल पिठो तथा मैदा र ५०० लिटर तेल बिक्री भएको कार्यालयले जनाएको छ।
साल्ट ट्रेडिङले दसैँ, तिहार र छठलाई लक्षित गरी सञ्चालन गरेको सुपथ मूल्य बिक्री कार्यक्रम कात्तिक मसान्तसम्म जारी रहनेछ।
कम्पनीले उपभोक्तालाई चाडपर्वमा अत्यावश्यक खाद्य सामग्री तुलनात्मक रूपमा सस्तो मूल्यमा उपलब्ध गराउने उद्देश्यले देशका विभिन्न ११ सहरमा सुपथ मूल्य पसल सञ्चालन गरिरहेको छ।
साल्ट ट्रेडिङका अनुसार बिर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, त्रिशूली, पोखरा र बागलुङमा यस्ता पसल सञ्चालनमा छन्।
चाडपर्वका बेला बजारमा उपभोग्य वस्तुको माग बढ्ने र मूल्यमा समेत दबाब पर्न सक्ने भएकाले सरकारी स्वामित्वको साल्ट ट्रेडिङले हरेक वर्ष सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्दै आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।