काठमाण्डौ । तिहार नजिकिँदै गर्दा स्थानीय फूलको अग्रिम माग बढ्न थालेपछि कञ्चनपुरका पुष्प व्यवसायी उत्साहित भएका छन्।
विगतमा उत्पादन गरेको फूलले बजार नपाउँदा बारीमै कुहिने र घाटा बेहोर्नुपर्ने अवस्था थियो। तर यस वर्ष तिहारअघि नै बुकिङ आउन थालेपछि व्यवसायीमा उत्साह थपिएको हो।
भीमदत्त नगरपालिका–१ की पुष्प व्यवसायी सिर्जना जोशीले यस वर्ष अहिलेसम्म २० किलो फूलको अग्रिम बुकिङ भइसकेको बताइन्। सात वर्षदेखि फूलखेती गर्दै आएकी उनले गत वर्ष स्थानीय फूलले राम्रो बजार पाएपछि यसपटक खेतीको क्षेत्रफलसमेत बढाएकी छन्।
उनका अनुसार स्थानीय प्रशासनले प्लास्टिकका मालामा रोक लगाउनु र भारतबाट आउने फूलमा नियन्त्रण गरिनुले स्वदेशी उत्पादनको माग बढाउन सहयोग गरेको छ।
जोशी अहिले १५ कट्ठा जग्गामा फूलखेती गरिरहेकी छन्। उनले वार्षिक ३० हजार रुपैयाँ भाडा तिरेर जग्गा लिएकी हुन्।
विगतमा बजार नपाउँदा उनले ठूलो क्षति बेहोरेकी थिइन्। एक वर्ष एक हजार बोट फूल बिक्री नभई कुहिएको थियो भने अर्को वर्ष चार हजार बोटबाट उत्पादन भएको फूल काठमाडौं पठाउने क्रममा बाटोमै बिग्रिएको थियो। दुई वर्षअघि मात्रै करिब दुई क्विन्टल फूल बिक्री नभएर खेर गएको उनको अनुभव छ।
तर गत वर्ष अवस्था फेरियो। १० कट्ठामा गरिएको फूलखेतीबाट सबै खर्च कटाएर करिब डेढ लाख रुपैयाँ आम्दानी भएको उनले बताइन्।
यस वर्ष माग अझ बढेपछि चार क्विन्टल फूल बिक्री गर्ने लक्ष्य राखिएको छ। स्थानीय बजारमा फूल प्रतिकिलो करिब ५०० रुपैयाँमा बिक्री भइरहेको छ।
कञ्चनपुरमै फूलखेतीतर्फ आकर्षण बढ्न थालेको छ। भीमदत्त नगरपालिका–१५ का मेघा रावलले चार कट्ठा जग्गामा दुई हजार ४०० बोट फूल लगाएका छन्।
करीब २५ हजार रुपैयाँ लागतमा गरिएको फूलखेतीबाट तिहारमा एक लाख रुपैयाँसम्म आम्दानी हुने अपेक्षा रहेको उनले बताए। यसपटक राम्रो बजार पाए अर्को वर्षदेखि खेती विस्तार गर्ने उनको योजना छ।
तिहारमा सयपत्री फूल माला, पूजाआजा र घर सजावटमा व्यापक रूपमा प्रयोग हुने भएकाले यसको माग उच्च हुने गर्छ। विवाह, सांस्कृतिक कार्यक्रम तथा अन्य उत्सवमा समेत स्थानीय फूलको प्रयोग बढ्दै जाँदा व्यवसायीले यसलाई परम्परागत खेतीभन्दा बढी आम्दानी दिने विकल्पका रूपमा लिन थालेका छन्।
व्यवसायीका अनुसार परम्परागत खेतीको तुलनामा फूलखेतीबाट तीन गुणासम्म बढी आम्दानी गर्न सकिने सम्भावना छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।