काठमाण्डौ । चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभावका कारण नेपालका विभिन्न क्षेत्रमा प्रतिकूल मौसम देखिन सक्ने भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनअनुसार भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको चक्रवाती प्रणालीको प्रभाव नेपालमा समेत पर्ने देखिएको छ।
यसको प्रभावले विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा, मेघगर्जनसहित चट्याङ, हावाहुरी तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने जनाइएको छ।
प्राधिकरणका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हवाई गतिविधि बढी प्रभावित हुन सक्नेछन्। कर्णाली र सुदूरपश्चिमका केही भागमा पनि मौसमको असर देखिन सक्ने अनुमान गरिएको छ।
प्राधिकरणले कात्तिक १२ गते बिहीबारदेखि कात्तिक १४ गते शनिबारसम्म मौसमको प्रभाव तुलनात्मक रूपमा बढी पर्न सक्ने जनाएको छ।
प्रतिकूल मौसमका कारण विमानस्थल सञ्चालन, उडान तथा अवतरण र समग्र हवाई ट्राफिक व्यवस्थापनमा चुनौती आउन सक्ने भएकाले सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी गर्न निर्देशन दिइएको छ।
हवाई सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै जोखिम न्यूनीकरणका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न वायुसेवा कम्पनी, विमानस्थल तथा सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
मौसमका कारण उडान तालिका परिवर्तन, ढिलाइ वा रद्दसमेत हुन सक्ने भएकाले यात्रुलाई यात्रा गर्नुअघि सम्बन्धित वायुसेवा कम्पनी वा विमानस्थलबाट उडानको पछिल्लो अवस्था बुझ्न पनि प्राधिकरणले सुझाव दिएको छ।
प्राधिकरणले प्रतिकूल मौसमका बीच पनि हवाई यातायातलाई सुरक्षित, नियमित र विश्वसनीय बनाउन आवश्यक समन्वय तथा निगरानी जारी राखिने जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।