काठमाण्डौ । चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि बढाएको पार्टी अनुशासन तथा भ्रष्टाचारविरोधी अभियान थप कडा बनेको छ। चिनियाँ कम्युनिस्ट पार्टीको पछिल्लो पूर्ण बैठकपछि एकैपटक ३३ जना पार्टी सदस्यलाई निष्कासन गरिएको छ।
निष्कासनमा परेकामध्ये १६ जना सेनासँग सम्बन्धित रहेको बताइएको छ। यसलाई पछिल्ला वर्षमा चिनियाँ कम्युनिस्ट पार्टीभित्र गरिएको ठूलो अनुशासनात्मक कारबाहीमध्ये एक मानिएको छ।
चार दिनसम्म चलेको पार्टी बैठकमा यसपटक आर्थिक सुधार वा विकासका मुद्दाभन्दा पार्टी अनुशासन र आन्तरिक शुद्धीकरणलाई बढी प्राथमिकता दिइएको थियो।
सन् २०१२ मा चीनको सर्वोच्च नेतृत्व सम्हालेदेखि सीले भ्रष्टाचारविरोधी अभियानलाई शासनको मुख्य आधार बनाउँदै आएका छन्। उनले भ्रष्टाचारलाई पार्टीका लागि सबैभन्दा ठूलो खतरामध्ये एक बताउँदै आएका छन्।
पार्टीको अनुशासनसम्बन्धी निकायका अनुसार सन् २०१२ यता दुई करोडभन्दा बढी मानिस विभिन्न अनुशासनहीन गतिविधिको दायरामा परेका छन्। त्यसमा अनावश्यक औपचारिकता, कर्मचारीतन्त्र, विलासी जीवनशैली, फजुल खर्च तथा अन्य अनुशासन उल्लङ्घनका गतिविधि समावेश छन्।
यस वर्षको पहिलो नौ महिनामै करिब ६ लाख ८० हजार पार्टी सदस्य तथा अधिकारीमाथि विभिन्न प्रकारका अनुशासनात्मक कारबाही गरिएको बताइएको छ।
पछिल्लो बैठकपछि जारी विज्ञप्तिमा निष्कासनमा परेका नेतामाथि ‘गम्भीर अनुशासनहीनता र कानुन उल्लङ्घन’ गरेको आरोप लगाइएको छ। तर व्यक्तिगत रूपमा उनीहरूले के गरेका थिए भन्ने विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
कारबाहीमा परेका उच्च तहका नेतामध्ये सिन्जियाङका पूर्व पार्टी प्रमुख मा सिङरुई, पूर्व उच्च सैनिक जनरल झाङ युस्या र लिउ झेनलीसमेत रहेको उल्लेख छ।
विशेषगरी सेनाका उच्च अधिकारीमाथिको कारबाहीलाई राजनीतिक तथा रणनीतिक रूपमा संवेदनशील मानिएको छ। सैन्य नेतृत्वभित्र लगातार भइरहेको फेरबदलले चिनियाँ सेनाको नेतृत्व संरचना र आन्तरिक विश्वासको अवस्थाबारे समेत बहस सिर्जना गरेको छ।
झाङ युस्या केन्द्रीय सैन्य आयोगका उपाध्यक्षसमेत थिए। यही आयोग चीनको जनमुक्ति सेनाको सर्वोच्च निर्णयकारी निकाय हो।
लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका पूर्व कूटनीतिज्ञ लिउ जियानछाओ पनि कारबाहीमा परेकाहरूको सूचीमा समेटिएका छन्।
सीको तेस्रो कार्यकालमा मात्रै पार्टीबाट निष्कासन गरिने केन्द्रीय तहका सदस्यको संख्या ५१ पुगेको बताइएको छ। पहिलो कार्यकालमा ३५ र दोस्रो कार्यकालमा पाँच जना निष्कासन भएका थिए।
पार्टीको पछिल्लो पूर्ण बैठकमा २७९ केन्द्रीय सदस्य सहभागी भएका थिए। यो संख्या अघिल्ला बैठकको तुलनामा निकै कम हो। सन् २०२५ को चौथो बैठकमा ३१५ र सन् २०२४ को तेस्रो बैठकमा ३६४ सदस्य सहभागी थिए।
विश्लेषकहरूका अनुसार सीको भ्रष्टाचारविरोधी अभियान आर्थिक अनियमिततामा मात्र सीमित छैन। पार्टीको विचारधाराप्रति कमजोर प्रतिबद्धता, नेतृत्वप्रतिको अवज्ञा वा बाहिर वफादार देखिएर भित्र फरक गतिविधि गर्नुलाई पनि अनुशासनहीनताको रूपमा हेरिने गरिएको छ।
सीले यसअघि नै ‘दुईमुखे अधिकारी’प्रति सचेत रहन पार्टी पङ्क्तिलाई चेतावनी दिएका थिए।
केही विश्लेषकले भ्रष्टाचार नियन्त्रणसँगै यो अभियान सीको राजनीतिक नियन्त्रण मजबुत बनाउने औजारका रूपमा समेत प्रयोग भइरहेको टिप्पणी गरेका छन्। आफैले पदोन्नति गरेका व्यक्तिसमेत कारबाहीमा पर्नुले पार्टीभित्र अन्तिम निर्णय शक्ति अझै सीकै हातमा केन्द्रित रहेको संकेत गर्ने उनीहरूको बुझाइ छ।
यो अभियानलाई सन् २०२७ मा हुने चिनियाँ कम्युनिस्ट पार्टीको २१औँ महाधिवेशनसँग पनि जोडेर हेरिएको छ। उक्त महाधिवेशनले आगामी नेतृत्व संरचना निर्धारण गर्नेछ।
धेरै अन्तर्राष्ट्रिय विश्लेषकले सी चौथो कार्यकालका लागि पनि चीनको सर्वोच्च नेतृत्वमा कायम रहन सक्ने अनुमान गरेका छन्।
यसअघि माओत्से तुङबाहेक आधुनिक चीनमा कुनै नेताले यति लामो समयसम्म सर्वोच्च सत्ता सम्हालेका थिएनन्।
पार्टीभित्रका धेरै वरिष्ठ नेता हटाइएपछि अब नयाँ पुस्ताका सम्भावित नेतृत्वकर्तामाथि सीको प्रत्यक्ष निगरानी अझ बढ्न सक्ने विश्लेषण गरिएको छ। विशेषगरी प्रदेश तहका प्राविधिक र व्यवस्थापकीय पृष्ठभूमिका नेताहरू आगामी नेतृत्व संरचनामा उक्लिन सक्ने सम्भावना देखिएको छ।
तर अत्यधिक शक्ति एकै व्यक्तिमा केन्द्रित हुँदै जाँदा भविष्यमा संस्थागत निर्णय प्रक्रिया कमजोर हुनसक्ने जोखिमबारे पनि विज्ञहरूले चेतावनी दिएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।