काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ।
मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम एन-प्याब्सनमाथि निलम्बनको निर्णय गरिएको जनाएको हो।
गृह मन्त्रालयका अनुसार एन-प्याब्सनले राष्ट्रिय निर्देशन ऐनअन्तर्गत मन्त्रालयबाट जारी भएका निर्देशनहरू पटक-पटक पालना नगरेको पाइएको छ। त्यस्तै, संस्थाका पदाधिकारीबाट सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्यविपरीतका गतिविधि भएको समेत मन्त्रालयको ठहर छ।
यस विषयमा मन्त्रालयले गत असोज २३ गते सरोकारवालासँग छलफल गरेको थियो। छलफलका क्रममा राष्ट्रिय निर्देशन ऐन तथा मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनअनुसार काम गर्न एन-प्याब्सनलाई आग्रह गरिएको थियो।
तर निर्देशन पालना नभएको भन्दै मन्त्रालयले संस्थामाथि निलम्बनको कदम चालेको हो।
मन्त्रालयले निलम्बन अवधिमा एन-प्याब्सनको नाम प्रयोग गरी कुनै पनि समूह वा गुटबाट गरिने गतिविधि गैरकानुनी हुने स्पष्ट पारेको छ।
संस्थाको नाममा गतिविधि सञ्चालन गर्ने वा निलम्बन निर्णयविपरीत काम गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत मन्त्रालयले दिएको छ।
गृह मन्त्रालयको यो निर्णयसँगै निजी विद्यालय सञ्चालकहरूको एउटा प्रमुख संगठन एन-प्याब्सनको नियमित गतिविधि तत्कालका लागि ठप्प हुने भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।