काठमाण्डौ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) र द स्टार्टअप नेटवर्क नेपाल (टीएसएन) को संयुक्त आयोजनामा आगामी नोभेम्बर ५ र ६ मा २४ घण्टे स्टार्टअप ह्याकाथन आयोजना हुने भएको छ।
काठमाडौं वर्ल्ड स्कुलमा आयोजना हुने ह्याकाथनको मुख्य उद्देश्य नवीन व्यावसायिक अवधारणा, प्रविधिमा आधारित समाधान तथा बजार विस्तारको सम्भावना भएका स्टार्टअपको पहिचान गरी तिनलाई लगानीकर्ता र उद्यमशीलता क्षेत्रका सरोकारवालासँग जोड्नु रहेको आयोजकले जनाएको छ।
ह्याकाथनमा सहभागी टोलीले सीमित समयभित्र आफ्नो व्यावसायिक अवधारणालाई परिष्कृत गर्दै समाधानको सम्भाव्यता, बिजनेस मोडल, बजारको आवश्यकता र विस्तार योजनासहित निर्णायक मण्डलसमक्ष प्रस्तुति दिनेछन्।
कार्यक्रमबाट उत्कृष्ट तीन स्टार्टअप टोली छनोट गरिनेछ। छनोट भएका टोलीले आगामी चरणमा लगानीकर्ता, मार्गदर्शक तथा उद्यमशीलता क्षेत्रका सरोकारवालासमक्ष आफ्नो व्यवसायिक अवधारणा प्रस्तुत गर्ने अवसर पाउनेछन्।
आयोजकका अनुसार ह्याकाथनको उद्देश्य केवल उत्कृष्ट आइडिया छनोट गर्नु मात्र नभई सम्भावनायुक्त अवधारणालाई दिगो व्यवसायमा रूपान्तरण गर्न आवश्यक लगानी, मार्गदर्शन र व्यावसायिक सञ्जालसँग जोड्नु पनि हो।
नेपालका प्रारम्भिक चरणका स्टार्टअपले लगानीमा पहुँच, बजारमा पहिचान, अनुभवी मार्गदर्शक र व्यावसायिक नेटवर्कको अभावजस्ता समस्या भोग्दै आएको उल्लेख गर्दै आयोजकले ह्याकाथनले ती समस्या सम्बोधन गर्न सहयोग गर्ने विश्वास व्यक्त गरेको छ।
सीएनआईवाईईएफ र द स्टार्टअप नेटवर्क नेपालको सहकार्यले युवा उद्यमीलाई प्रोत्साहन गर्नुका साथै नवप्रवर्तनमा आधारित उद्यमशीलता संस्कृतिको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रम ‘स्टार्टअप ह्याकाथन–भोल्युम IV’ नाममा सञ्चालन हुनेछ। २४ घण्टा चल्ने ह्याकाथनमा सहभागी हुन इच्छुक स्टार्टअप तथा नवप्रवर्तकले आयोजकले उपलब्ध गराएको माध्यमबाट आवेदन दिन सक्नेछन्।
थप जानकारीका लागि द स्टार्टअप नेटवर्क नेपालले ९८४३८७२८७० नम्बर उपलब्ध गराएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।