काठमाण्डौ । नेपाली प्रयोगकर्तालाई लक्षित गरी विकसित नेपा एपले नयाँ अपडेट सार्वजनिक गरेको छ। अपडेटसँगै एपमा दैनिक जीवन, स्वास्थ्य, सार्वजनिक सेवा, मौसम, बजार तथा सरकारी सूचनासँग सम्बन्धित विभिन्न नयाँ सुविधा थपिएका छन्।
नयाँ संस्करणको प्रमुख आकर्षणमध्ये फोटोबाट नेपाली टेक्स्ट निकाल्न सकिने ओसीआर (Optical Character Recognition) सुविधा रहेको छ। यसमार्फत किताब, पत्रपत्रिका, सूचना, कागजात वा अन्य तस्बिरमा रहेका नेपाली अक्षरलाई डिजिटल टेक्स्टमा रूपान्तरण गर्न सकिनेछ।
यो सुविधा विशेषगरी विद्यार्थी, शिक्षक, पत्रकार, कार्यालयमा काम गर्ने व्यक्ति तथा नेपाली भाषाका सामग्रीसँग नियमित रूपमा काम गर्ने प्रयोगकर्ताका लागि उपयोगी हुने कम्पनीले जनाएको छ।
त्यस्तै, नयाँ अपडेटमा नियमित रूपमा पानी पिउन सम्झाउने ‘वाटर रिमाइन्डर’ पनि थपिएको छ। प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार पानी पिउने समय सेट गर्न सक्नेछन्।
एपमा वर्ल्ड क्लक र बीएमआई क्याल्कुलेटरसमेत समावेश गरिएको छ। वर्ल्ड क्लकमार्फत विभिन्न देश तथा सहरको स्थानीय समय हेर्न सकिनेछ भने बीएमआई क्याल्कुलेटरमार्फत उचाइ र तौलका आधारमा बडी मास इन्डेक्स गणना गर्न सकिनेछ।
स्वास्थ्य सेवासँग सम्बन्धित सुविधालाई विस्तार गर्दै अस्पतालमा उपलब्ध फ्री खाली बेडको सूची र अस्पतालअनुसार ब्लड बैंकसम्बन्धी जानकारी पनि नयाँ अपडेटमा समेटिएको छ।
सरकारी सूचना तथा अवसर खोज्ने प्रयोगकर्ताका लागि लोकसेवा आयोगका सूचना र टेन्डरसम्बन्धी सूचना पनि एपमै उपलब्ध गराइएको छ।
त्यस्तै पेट्रोल तथा डिजेलको मूल्यसँगै ट्रिप क्याल्कुलेटर सुविधा थपिएको छ। यसमार्फत यात्राको दूरी र सवारीसाधनको इन्धन खपतका आधारमा अनुमानित यात्रा खर्च निकाल्न सकिनेछ।
दैनिक बजारसम्बन्धी जानकारीका लागि तरकारीको मूल्य र जिल्लागत मौसमसम्बन्धी विवरण पनि उपलब्ध गराइएको छ।
नेपा एपमा यसअघि नै नेपाली पात्रो, समाचार, जिल्लागत समाचार, रेडियो, दैनिक राशिफल, सुनको मूल्य, विदेशी मुद्रा विनिमय दर, डकुमेन्ट स्क्यानर, महिनावारी ट्र्याकर, नोट तथा रिमाइन्डर, क्यूआर कोड स्क्यानर, नेपाली मिति कन्भर्टर, युनिट कन्भर्टर, क्याल्कुलेटर, कर क्याल्कुलेटर, ईएमआई क्याल्कुलेटर, जीपीएस लोकेसन सेयरिङ र इन्टरनेट स्पिड मिटरलगायतका सुविधा उपलब्ध थिए।
नयाँ अपडेटसँगै एपले नेपाली प्रयोगकर्तालाई दैनिक जीवनमा आवश्यक सूचना, डिजिटल टुल्स तथा सार्वजनिक सेवासम्बन्धी जानकारी एउटै प्लेटफर्ममा उपलब्ध गराउने दायरा थप विस्तार गरेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।