आईतवार, कार्तिक १५,२०८३ 11:45:05
  • आईतवार, कार्तिक १५,२०८३ 11:45:05
Global IME Bank Limited

५० हजारको धान फल्ने खेतमा सयपत्री खेती, १२ लाखको कारोबार गर्ने लक्ष्य

Bizshala
५० हजारको धान फल्ने खेतमा सयपत्री खेती, १२ लाखको कारोबार गर्ने लक्ष्य
New Office

 

काठमाण्डौ । धानखेतीबाट करिब ५० हजार रुपैयाँको उत्पादन हुने जमिनमा सयपत्री लगाएका झापाका तीन किसानले यसपालिको तिहारमा १० देखि १२ लाख रुपैयाँसम्मको कारोबार गर्ने लक्ष्य राखेका छन्। परम्परागत खेतीको विकल्प खोज्दै व्यावसायिक फूल उत्पादनमा जुटेका उनीहरू अहिले फूल टिप्न र माला तयार पार्न व्यस्त छन्।

बुद्धशान्ति गाउँपालिका–३ दुइरिङ्गेका विनोद रिजाल, गुणराज न्यौपाने र वीरबल बानियाँले ‘कृषि कम्पास’ समूह गठन गरेर सामूहिक फूलखेती सुरु गरेका हुन्। उनीहरूले १० कट्ठा जमिनमा सात हजारभन्दा बढी सयपत्रीका बिरुवा लगाएका छन्।

खेती सुरु गर्न पाँच लाख ५० हजार रुपैयाँ लगानी गरेको समूहले करिब १० हजार माला उत्पादन हुने अनुमान गरेको छ। तिहारको बजारलाई लक्षित गर्दै तयार पारिएका माला ताजा राख्न चिस्यानयुक्त भण्डारण कक्षमा राख्ने काम भइरहेको छ।

समूहका सदस्य गुणराज न्यौपानेका अनुसार यही जमिनमा धान लगाउँदा करिब ३० मन उत्पादन हुन्थ्यो। त्यसको बजार मूल्य करिब ५० हजार रुपैयाँ मात्र हुने भएपछि बढी आम्दानीको सम्भावना खोज्दै फूलखेती रोजिएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

प्रतिमाला एक सयदेखि एक सय ५० रुपैयाँसम्ममा बिक्री गर्न सकिने उनको भनाइ छ। उत्पादित माला बिक्री भए १० देखि १२ लाख रुपैयाँसम्म कारोबार हुने समूहको अपेक्षा छ। यो कुल बिक्रीको अनुमान भएकाले वास्तविक नाफा भने उत्पादन, भण्डारण र बिक्री व्यवस्थापनमा लागेको सम्पूर्ण खर्च कटाएपछि मात्र स्पष्ट हुनेछ।

यस वर्षको अनुभवका आधारमा समूहले आगामी वर्ष खेती विस्तार गर्ने योजनासमेत बनाएको छ। समूहका अर्का सदस्य विनोद रिजालले तीन बिघा क्षेत्रफलमा फूलखेती गर्ने तयारी रहेको बताए। उत्पादनको सम्भावना र बजारको मागले खेती विस्तार गर्न उत्साहित बनाएको उनको भनाइ छ।

तर किसानको उत्साहसँगै बजारको चिन्ता पनि जोडिएको छ। टिपेका फूललाई लामो समय ताजा राख्नु र समयमै उपभोक्तासम्म पुर्‍याउनु उनीहरूका मुख्य चुनौती हुन्। भारतबाट आउने फूलका कारण स्थानीय उत्पादन बिक्री नभए लगानी जोखिममा पर्ने चिन्ता किसानमा छ।

स्वदेशी फूलको बजार सुनिश्चित गर्न माग गर्दै जिल्लाका व्यावसायिक फूल किसानले मंगलबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई सातबुँदे मागपत्र बुझाएका थिए। उनीहरूले स्थानीय बजारमा स्वदेशी सयपत्रीलाई प्राथमिकता दिन र भारतबाट हुने अनधिकृत आयात नियन्त्रण गर्न माग गरेका छन्।

किसानको मागपछि पोखरेल शनिबार बुद्धशान्ति पुगेर फूलखेतीको अवस्था अवलोकन गरेका थिए। उनले किसानसँग उत्पादन, लगानी र बजार व्यवस्थापनका विषयमा जानकारी लिएका थिए।

Garima Development Bank
Bizshala
IME remit

पोखरेलले स्थानीय उत्पादनले बजारको माग धान्न सक्ने अवस्थामा बाहिरबाट हुने फूल आयात नियन्त्रण गर्न सकिने बताए। स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने किसानको माग जायज रहेको उल्लेख गर्दै उनले झापाको माग पूरा गर्न पूर्वी पहाडका जिल्लाबाट समेत फूल ल्याउन सकिने धारणा राखे।

‘सुन्दर शान्त नेपाल’का अभियानकर्मी मनिष दाहालका अनुसार बुद्धशान्तिका शान्तिनगर, सुनमाई र गोपालडाँडालगायत क्षेत्रमा व्यावसायिक फूलखेती विस्तार भइरहेको छ। किसानको बढ्दो आकर्षणले झापालाई फूल उत्पादनमा आत्मनिर्भर बनाउने सम्भावना देखिएको उनको भनाइ छ।

धानखेतीको तुलनामा उच्च कारोबारको सम्भावना देखेर फूलखेतीमा लागेका किसानका लागि अब निर्णायक पक्ष तिहारको बिक्री हुनेछ। उत्पादनसँगै भण्डारण, ढुवानी र बजारको भरपर्दो व्यवस्था हुन सके सयपत्रीखेती किसानको वैकल्पिक आम्दानीको स्रोत बन्न सक्ने देखिन्छ।

 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.