काठमाण्डौ । सिन्धु विकास बैंकको खराब कर्जा बढेसँगै नोक्सानी थप चुलिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद ब्याज आम्दानी बढे पनि कर्जा तथा अन्य सम्भावित नोक्सानीबापतको खर्च र सञ्चालन खर्च धान्न नसक्दा बैंकको घाटा अघिल्लो वर्षको तुलनामा ३९.३३ प्रतिशतले बढेको हो।
तीन महिनामा बैंकले ६ करोड २१ लाख ३६ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंक ४ करोड ४५ लाख ९८ हजार रुपैयाँ घाटामा थियो। एक वर्षको अन्तरमा पहिलो त्रैमासको नोक्सानी करिब १ करोड ७५ लाख रुपैयाँ थपिएको छ।
बैंकको वित्तीय अवस्थामा दबाब बढाउने प्रमुख कारणमध्ये खराब कर्जाको वृद्धि देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८.८४ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यसपटक १२.१२ प्रतिशत पुगेको छ। एक वर्षमा यस्तो अनुपात ३.२८ प्रतिशत बिन्दुले बढेको हो।
अघिल्लो वर्ष ३ करोड ५ लाख ८ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी यसपटक ७.६१ प्रतिशतले बढेर ३ करोड २८ लाख ३० हजार रुपैयाँ पुगेको छ।
बैंकको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ४४.५९ रुपैयाँ ऋणात्मक पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ३२ रुपैयाँ ऋणात्मक थियो। प्रतिसेयर नेटवर्थ ८७.२८ रुपैयाँ कायम भएको छ भने कुल इक्विटी गत असार मसान्तको ५४ करोड ८९ लाख रुपैयाँबाट घटेर ४८ करोड ६६ लाख रुपैयाँमा झरेको छ।
असोज मसान्तसम्म बैंकको सञ्चित वितरणयोग्य नोक्सानी ३० करोड ३१ लाख ५२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा यस्तो नोक्सानी २५ करोड ३६ लाख ६० हजार रुपैयाँ थियो।
चालु त्रैमासको नियामकीय समायोजनपछिको वितरणयोग्य नोक्सानी मात्रै ६ करोड ८९ लाख ४३ हजार रुपैयाँ छ। अघिल्लो अवधिबाट सरेको घाटासमेत जोडिएको सञ्चित नोक्सानी बढ्दा सेयरधनीलाई प्रतिफल दिने क्षमतामा थप दबाब परेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।