काठमाडौं। हिम पर्वत हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको साधारण सेयरमा आवेदन दिने समय आज बैंकिङ समयपछि बन्द हुने भएको छ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कात्तिक ११ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो। मागभन्दा बढी आवेदन प्राप्त भएपछि कम्पनीले सोमबार बैंकिङ समयपछि आवेदन लिने कार्य बन्द गर्न लागेको हो।
कम्पनीको जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँ रहेको छ। जारी पुँजीको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ५९ लाख १५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ।
त्यसमध्ये जारी पुँजीको २५ प्रतिशत अर्थात् ४२ करोड २५ लाख रुपैयाँ बराबरका ४२ लाख २५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने व्यवस्था छ। सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख २२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको हो।
यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।