काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफामा उल्लेख्य छलाङ मारेको छ। कम्पनीको विद्युत बिक्री आम्दानी सामान्य मात्र बढे पनि वित्तीय लागत र प्रशासनिक खर्चमा आएको ठूलो गिरावटले खुद नाफा दोब्बरभन्दा बढी बनाएको हो।
कम्पनीले असोज मसान्तसम्म ६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ८० लाख ८७ हजार रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा कम्पनीको खुद नाफा करिब १२८ प्रतिशतले बढेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने करिब १ प्रतिशत मात्रै बढेको छ। गत वर्षको पहिलो त्रैमासमा १२ करोड ७७ लाख ६४ हजार रुपैयाँ रहेको विद्युत बिक्री आम्दानी यस वर्ष १२ करोड ८९ लाख ६६ हजार रुपैयाँ पुगेको छ।
आम्दानीमा ठूलो वृद्धि नभए पनि खर्च नियन्त्रणले कम्पनीको नाफामा बलियो प्रभाव पारेको देखिन्छ।
कम्पनीको वित्तीय लागत गत वर्षको ४ करोड ६४ लाख ९२ हजार रुपैयाँबाट घटेर २ करोड ६६ लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ। अर्थात् वित्तीय लागत करिब ४३ प्रतिशत घटेको छ।
यस्तै प्रशासनिक तथा अन्य सञ्चालन खर्च पनि १ करोड ८५ लाख ९७ हजार रुपैयाँबाट घटेर ९५ लाख ५० हजार रुपैयाँमा झरेको छ। यो खर्च करिब ४९ प्रतिशतले घटेको हो।
फलस्वरूप कम्पनीको सञ्चालन नाफा ७ करोड ४५ लाख रुपैयाँबाट बढेर ९ करोड ६५ लाख रुपैयाँ पुगेको छ। करअघिको नाफा पनि २ करोड ८० लाख रुपैयाँबाट बढेर ६ करोड ४० लाख रुपैयाँ पुगेको छ।
कम्पनीको चुक्तापूँजी ७६ करोड रुपैयाँ रहेको छ भने सञ्चित नाफा १७ करोड १६ लाख रुपैयाँभन्दा बढी पुगेको छ। कुल इक्विटी ९३ करोड १६ लाख रुपैयाँ पुगेको छ।
नाफामा आएको उच्च सुधारसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि उल्लेख्य बढेको छ। गत वर्ष पहिलो त्रैमासमा ३.७० रुपैयाँ रहेको ईपीएस यस वर्ष ८.४२ रुपैयाँ पुगेको छ।
कम्पनीको प्रतिशेयर नेटवर्थ १२२.५९ रुपैयाँ पुगेको छ भने पीई रेसियो ४८.७५ गुणा रहेको छ। आरओई ७.११ प्रतिशत पुगेको छ, जुन गत वर्षको समान अवधिमा ३.४८ प्रतिशत थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।