काठमाण्डौ । तालिवान सरकारले अमेरिकाबाट अफगान आप्रवासीलाई स्वदेश फिर्ता पठाउने प्रक्रियामा जिम्मेवार रूपमा अघि बढ्न वाशिङ्टनलाई आग्रह गरेको छ।
अफगानिस्तानको परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै अमेरिकासँग यस विषयमा रचनात्मक रूपमा सहकार्य गर्न काबुल तयार रहेको जनाएको हो।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प नेतृत्वको प्रशासनले केही अफगान आप्रवासीलाई फिर्ता पठाउने तयारी गरेको विवरण सार्वजनिक भएपछि तालिवान सरकारको यस्तो प्रतिक्रिया आएको हो।
अफगान परराष्ट्र मन्त्रालयले विद्यमान परिस्थिति र दुवै पक्षका जायज चासोलाई ध्यानमा राखेर आपसी समझदारीका आधारमा सहकार्य गर्न आफू तयार रहेको बताएको छ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार अमेरिकाले १५० भन्दा बढी अफगान आप्रवासीलाई फिर्ता पठाउने तयारी गरेको छ। पहिलो उडान सोमबार नै हुन सक्ने विवरणसमेत सार्वजनिक भएको थियो।
तर अमेरिका र तालिवान सरकारबीच औपचारिक कूटनीतिक सम्बन्ध नभएकाले वाशिङ्टनले अफगानिस्तानमा प्रत्यक्ष डिपोर्ट उडान सञ्चालन गर्न नसक्ने अवस्था छ। त्यसैले ती आप्रवासीलाई पाकिस्तान हुँदै अफगानिस्तान पठाउने तयारी भइरहेको बताइएको छ।
तालिवान सरकारले तेस्रो देशहरूले अल्पकालीन सुविधा वा स्वार्थका लागि अन्य देशका नागरिकलाई ‘बार्गेनिङको वस्तु’का रूपमा प्रयोग गर्न नहुने चेतावनीसमेत दिएको छ।
अफगान पक्षले आप्रवासी फिर्तीको विषयलाई मानवीय संवेदनशीलता र आपसी समझदारीका आधारमा समाधान गर्नुपर्नेमा जोड दिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।