सोमबार, कार्तिक १६,२०८३ 05:42:33
  • सोमबार, कार्तिक १६,२०८३ 05:42:33
Global IME Bank Limited

नेपाल–पाकिस्तान व्यापार र लगानी विस्तारमा जोड, चेम्बर अध्यक्ष अग्रवाल र पाकिस्तानी राजदूत खानबीच भेट

Bizshala
नेपाल–पाकिस्तान व्यापार र लगानी विस्तारमा जोड, चेम्बर अध्यक्ष अग्रवाल र पाकिस्तानी राजदूत खानबीच भेट
New Office

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानबीच नेपाल–पाकिस्तान व्यापार, लगानी तथा आर्थिक सहकार्य विस्तारबारे छलफल भएको छ।

मंगलबार काठमाडौंस्थित चेम्बर भवनमा भएको शिष्टाचार भेटमा दुई देशबीचको लामो कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक सहकार्य, व्यापार, लगानी र व्यावसायिक साझेदारीमार्फत थप मजबुत बनाउने विषयमा जोड दिइएको हो।

भेटमा अध्यक्ष अग्रवालले सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण सम्बन्ध कायम रहे पनि त्यसलाई अपेक्षित आर्थिक उपलब्धिमा रूपान्तरण गर्न नसकिएको बताए।

उनले सन् १९८२ मा द्विपक्षीय व्यापार सम्झौता र सन् १९८३ मा संयुक्त आर्थिक आयोग स्थापना भए पनि व्यापार विस्तार अपेक्षाअनुसार हुन नसकेको उल्लेख गरे।

अग्रवालले अब औपचारिक सम्झौता र कूटनीतिक संवादमा मात्रै सीमित नरही दुवै देशका निजी क्षेत्रबीच प्रत्यक्ष बीटुबी सम्पर्क, बजार पहुँच, संयुक्त लगानी तथा व्यावसायिक साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिए।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उनले नेपाली चिया, ठूलो अलैंची, अदुवा, जडीबुटी, आवश्यक तेल तथा प्रशोधित कृषि उत्पादन पाकिस्तान निर्यात गर्न सकिने सम्भावना औंल्याए। गुणस्तर, प्याकेजिङ, ब्रान्डिङ, प्रमाणीकरण र नियमित आपूर्ति सुनिश्चित गर्न सके पाकिस्तानी बजारमा नेपाली उत्पादनको राम्रो सम्भावना रहेको उनको भनाइ छ।

पाकिस्तानको औषधि उत्पादन र कपडा उद्योगको अनुभवबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै अग्रवालले औषधि, मेडिकल उपकरण, स्वास्थ्य सेवा, प्राविधिक तालिम, अनुसन्धान तथा संयुक्त लगानीका क्षेत्रमा सहकार्य गर्न सकिने बताए।

सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता, डिजिटल सेवा, स्टार्टअप, पर्यटन तथा सांस्कृतिक आदानप्रदानलाई पनि नेपाल–पाकिस्तान आर्थिक सहकार्यका महत्वपूर्ण क्षेत्रका रूपमा अघि बढाउन सकिने उनको भनाइ थियो। विशेषगरी सूचना प्रविधि र पर्यटनमा भौगोलिक दूरी ठूलो अवरोध नबन्ने भएकाले तत्काल सहकार्य सम्भव रहेको उनले बताए।

भेटमा पाकिस्तानी राजदूत खानले पाकिस्तानले नेपालसँगको सम्बन्धलाई विशेष महत्व दिएको बताए। ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध बलियो भए पनि आर्थिक सम्बन्ध अपेक्षित रूपमा विस्तार हुन नसकेको उल्लेख गर्दै उनले नेपालसँग आर्थिक सम्बन्धलाई पुनः सक्रिय बनाउनु आफ्नो कार्यकालको प्राथमिकतामध्ये एक रहेको बताए।

Garima Development Bank
Bizshala
IME remit

दुवै देशमा ठूलो युवा जनशक्ति रहेकाले नयाँ पुस्ताका विचार, प्रविधि र उद्यमशीलतालाई आर्थिक सहकार्यसँग जोड्नुपर्नेमा पनि उनले जोड दिए।

परिवर्तनशील विश्व अर्थतन्त्रमा आर्थिक कूटनीति, डिजिटल प्रविधि र प्रभावकारी कनेक्टिभिटी भौगोलिक दूरीभन्दा महत्वपूर्ण बन्दै गएको राजदूत खानको भनाइ थियो।

भेटका क्रममा उनले नेपालमा हालै आएको बाढीका कारण रसुवा तथा आसपासका क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै पाकिस्तान सरकार र जनताको तर्फबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाए।

बैठकमा व्यापार, लगानी, पर्यटन, सूचना प्रविधि, कृषि, औषधि उद्योग तथा हवाई र स्थल कनेक्टिभिटी विस्तारलगायत क्षेत्रमा सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

भेटमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रासहित अन्य पदाधिकारीको पनि उपस्थिति थियो।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.