काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार आचार्यले सार्वजनिक सेवामा रहँदा ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेका छन्।
आचार्यले २०५४ माघ २ देखि २०८० मङ्सिर २१ सम्मको अवधिमा ६ करोड २५ लाख ६३ हजार ३४५ रुपैयाँ वैध आम्दानी गरेको देखिए पनि सोही अवधिमा १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँ खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।
आयोगले आचार्यकी श्रीमती ललिता राजभण्डारी तथा छोरीहरू निलु र सरु आचार्यविरुद्ध पनि समान बिगो मागदाबी गरेको छ। त्यस्तै, प्रभा बस्नेत र कुमारी कटुवालविरुद्ध ३८ लाख ८६ हजार १८२ रुपैयाँ बिगो माग गरिएको छ।
यसैगरी, आचार्य र उनका परिवारका सदस्यविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गतको कसुरमा समेत छुट्टै मुद्दा दायर गरिएको आयोगले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।