काठमाण्डौ । म्यानचेस्टर सिटी तथा नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्ड विश्वकै सबैभन्दा बजारयोग्य फुटबलर बनेका छन्।
स्पोर्ट्सप्रोले सार्वजनिक गरेको सन् २०२६ को ‘५० मोस्ट मार्केटेबल एथ्लिट्स’ सूचीमा हालान्ड समग्र खेलाडीमध्ये चौथो स्थानमा रहँदै फुटबलतर्फ सबैभन्दा अगाडि परेका हुन्। क्रिस्टियानो रोनाल्डो भने समग्र सूचीको १४औँ स्थानमा झरेका छन्।
स्पोर्ट्सप्रोको सूचीमा टेनिस स्टार आर्यना साबालेन्का पहिलो, फ्रिस्टाइल स्कियर आइलीन गु दोस्रो र बास्केटबल स्टार जियानिस एन्टेटोकुनम्पो तेस्रो स्थानमा छन्। हालान्ड शीर्ष १० भित्र पर्ने एकमात्र फुटबलर हुन्।
खेलाडीको बजारयोग्यता निर्धारण गर्दा ब्रान्ड इक्विटी, हालको लोकप्रियता र भविष्यको व्यावसायिक सम्भावनालाई आधार बनाइएको छ। मूल्यांकनमा ७० खेलका १ हजार २०२ खेलाडीलाई समेटिएको थियो।
हालान्डको पछिल्लो व्यावसायिक उकालोमा मैदानभित्रको प्रदर्शनसँगै सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममा बढेको उपस्थितिले पनि भूमिका खेलेको छ। उनले सन् २०२५ को अक्टोबरमा सुरु गरेको युट्युब च्यानलले छोटो अवधिमै ४६ लाखभन्दा बढी सब्सक्राइबर र करिब २५ करोड भ्यु पाएको उल्लेख गरिएको छ।
यसैबीच रोनाल्डो गत वर्ष पाँचौँ स्थानमा रहेकामा यसपटक १४औँ स्थानमा झरेका छन्। लियोनल मेसी २७औँ स्थानमा छन् भने किलियन एमबाप्पे १९औँ स्थानमा रहेका छन्।
हालान्डको यो उछालले फुटबलको व्यावसायिक बजारमा नयाँ पुस्ताको प्रभाव तीव्र रूपमा बढिरहेको संकेत गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।