काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नदी नियन्त्रण तथा जल उत्पन्न विपद् व्यवस्थापनतर्फ ३४.९ प्रतिशत भौतिक प्रगति हासिल गरेको जनाएको छ ।
नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाअन्तर्गतका कार्यक्रमका लागि सरकारले चालु आर्थिक वर्षमा ५ अर्ब २० करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ । पहिलो त्रैमासमा ६२ करोड ७४ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य रहेकामा १४ करोड ७० लाख रुपैयाँ मात्रै खर्च भएको छ । यो लक्ष्यको २३.४ प्रतिशत हो ।
महाशाखाका अनुसार समीक्षा अवधिमा २.९ किलोमिटर तटबन्ध निर्माण र एक हेक्टर जग्गा उकास गरिएको छ । खर्चको तुलनामा भौतिक प्रगति भने बढी देखिएको छ ।
आयोजनागत रूपमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुरले त्रैमासिक लक्ष्यको १६०.८ प्रतिशत प्रगति गरेको छ । टार–बजार संरक्षण कार्यक्रमले १०८ प्रतिशत, लमहीले ८६.५ प्रतिशत, कञ्चनपुरले ८२.५ प्रतिशत र जनकपुरले ८२.३ प्रतिशत भौतिक प्रगति हासिल गरेका छन् ।
महाशाखाले नदी नियन्त्रण, तटबन्ध निर्माण तथा बाढीपहिरोलगायत जल उत्पन्न विपद्बाट जोखिममा रहेका बस्ती र खेतीयोग्य जमिनको संरक्षणका लागि विभिन्न आयोजना सञ्चालन गर्दै आएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।