काठमाडौं । सरकारले औद्योगिक विकास, उत्पादनको गुणस्तर सुधार तथा व्यापार सहजीकरण गर्ने उद्देश्यले नेपाल प्रत्यायन केन्द्र स्थापना गरेको छ।
त्रिपुरेश्वरस्थित केन्द्रको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री ई. दीपककुमार साहले उद्घाटन गरेका हुन्।
केन्द्र सञ्चालनमा आएसँगै नेपालका प्रयोगशाला, मेडिकल ल्याब, निरीक्षण तथा प्रमाणीकरण गर्ने संस्थाले स्वदेशमै प्रत्यायन सेवा प्राप्त गर्न सक्ने भएका छन्। यसबाट परीक्षण तथा प्रमाणीकरणमा लाग्ने समय र खर्च घट्नुका साथै विदेशी निकायमाथिको निर्भरता कम हुने अपेक्षा गरिएको छ।
केन्द्रले खाद्य पदार्थ, औषधिजन्य उत्पादन, निर्माण सामग्री र विद्युतीय उपकरणलगायत वस्तुको गुणस्तर परीक्षण गर्ने संस्थाको विश्वसनीयता बढाउन सहयोग गर्नेछ। साथै अन्तर्राष्ट्रिय प्रत्यायन तथा पारस्परिक मान्यताको व्यवस्था विकास गरी नेपाली उत्पादनको गुणस्तरप्रति विश्व बजारमा विश्वास बढाउन र निर्यात प्रक्रिया सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने मन्त्रालयले जनाएको छ।
मन्त्री साहले केन्द्रको सञ्चालनले उद्योगको लागत घटाउनुका साथै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।