काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन ६६.३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माणकार्य बाढीका कारण एक महिनादेखि ठप्प भएको छ ।
गत असोज ११ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीले आयोजनाको बाँध, सुरुङ, आवास भवन, मेसिनरी तथा निर्माण उपकरणमा क्षति पुर्याउँदा करिब १८ देखि २० करोड रुपैयाँ बराबरको नोक्सानी भएको आयोजना प्रमुख अजितविक्रम कार्कीले जानकारी दिए ।
बाढीले सुकेबगरस्थित बाँधको डाइभर्सन भत्काउनुका साथै निर्माणस्थलमा गेग्रान थुपारेको छ । नागढुङ्गा र रातोपानीमा रहेका आवास भवन तथा श्रमिक क्याम्प बगाएको छ भने निर्माण सामग्री, डिजेल ट्याङ्की र वर्कसपमा समेत क्षति पुगेको छ ।
क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरी तिहारलगत्तै निर्माणकार्य पुनः सुरु गर्ने तयारी गरिएको आयोजनाले जनाएको छ ।
विसं २०८१ देखि निर्माण सुरु भएको आयोजनालाई २०८५ सालसम्म सम्पन्न गर्ने लक्ष्य छ । कुल १२ अर्ब ९३ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ६ वटा वाणिज्य बैंकले ७५ प्रतिशत लगानी गर्नेछन् भने बाँकी २५ प्रतिशत प्रवर्द्धक कम्पनी र सेयर लगानीकर्ताबाट जुटाइनेछ ।
हाइड्रो सपोर्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाको विद्युत् उत्पादनपछि दानास्थित २२० केभी सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने योजना छ । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता भइसकेको आयोजनाको विद्युत् हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा बिक्री हुनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।