काठमाण्डौ । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलाको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा प्रहरीले २३१ किलो ८०० ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको छ।
सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित खोलामा गाँजा लुकाइएको विशेष सूचना पाएपछि प्रहरीले गए राति करिब १ बजे खोजतलास गरेको थियो। त्यस क्रममा खाल्डोभित्र राखिएको उक्त पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीका अनुसार बरामद गरिएको स्थानमा कुनै व्यक्ति फेला परेनन्। पदार्थ लुकाउने कार्यमा कसको संलग्नता थियो भन्ने खुलेको छैन।
सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले विभिन्न नदी तथा खोलाको बाटो प्रयोग गरेर भारततर्फ गाँजा तस्करी हुने गरेको बताए।
बरामद पदार्थका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।