काठमाडौं । साहस ऊर्जाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५९ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको ४९ करोड ४८ लाख रुपैयाँको तुलनामा २१.०६ प्रतिशतले बढी हो ।
कम्पनीको वित्तीय विवरणअनुसार विद्युत बिक्री आम्दानी ३.१६ प्रतिशतले बढेर ९५ करोड ३८ लाख रुपैयाँ पुगेको छ । यसैगरी, ब्याज खर्चमा उल्लेख्य कमी आउँदा नाफा बढाउन थप मद्दत पुगेको छ । गत वर्ष १६ करोड ७९ लाख रुपैयाँ रहेको वित्तीय खर्च घटेर ११ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा पनि बढेर ७३ करोड ३६ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो मुनाफा ६७ करोड ७४ लाख रुपैयाँ थियो । कम्पनीको जगेडा कोष ४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ भने दीर्घकालीन कर्जा घटेर ८ अर्ब ५९ करोड रुपैयाँ कायम भएको छ ।
४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ४० पैसा र प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ ७१ पैसा रहेको छ ।
कम्पनीले बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव विद्युत् नियमन आयोगबाट स्वीकृत गराइसकेको छ । उक्त प्रस्ताव हाल नेपाल धितोपत्र बोर्डको स्वीकृतिको प्रक्रियामा छ ।
यसैगरी, सहायक कम्पनी टाइम्स इनर्जीमार्फत अघि बढाइएको ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको डिजाइन कार्य अन्तिम चरणमा पुगेको र आयोजनास्थलमा कामदार तथा कर्मचारी परिचालन भइसकेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।