काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न संस्थाले आगामी मङ्सिर २३ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ ।
संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार साधारण सभा पोखराको लेकसाइडस्थित आईएमई हस्पिटालिटीमा बस्नेछ ।
सभामा आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०८३र८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा सञ्चालक समितिबाट भएका निर्णय अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।
त्यस्तै, सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको ६ प्रतिशत अर्थात् ३ करोड ८८ लाख ९७ हजार ८६७ रुपैयाँ ८३ पैसा बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यसका लागि संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।
सभाले संस्थाको नियमावली संशोधन, सञ्चालक समितिको बैठक भत्ता पुनरावलोकन तथा दुई जना सञ्चालक निर्वाचन गर्ने प्रस्तावसमेत पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि संस्थाले मङ्सिर २२ गते सेयर दाखिला किताब बन्द गर्ने जनाएको छ । त्यसअनुसार मङ्सिर २१ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागी हुन र प्रस्तावित बोनस सेयर प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।