काठमाण्डौ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा–भोटेकोशी बाढीमा बेपत्ता भएका थप ७४० जनाको विवरण सार्वजनिक गर्दै उनीहरूका सम्बन्धमा कुनै दाबी वा विवरण संशोधन गर्नुपर्ने भए सात दिनभित्र पेश गर्न आग्रह गरेको छ।
गृह मन्त्रालयअन्तर्गतको प्राधिकरणले आइतबार अत्यन्त जरुरी सूचना जारी गर्दै बेपत्ता व्यक्तिहरूको विवरणमा दाबी विरोध तथा संशोधनका लागि सात दिनको समय दिएको हो।
प्राधिकरणका अनुसार सार्वजनिक गरिएको विवरणमा १७ जिल्लाका १९८ जना नेपाली नागरिक र १२ देशका ५४२ जना विदेशी नागरिक समावेश छन्।
नेपाली बेपत्तामध्ये सबैभन्दा धेरै गोरखाका ६७ जना र नुवाकोटका ६३ जना रहेका छन्। यस्तै, दोलखाका ५९, सल्यानका ४८, मकवानपुरका ५०, पाँचथरका १, सोलुखुम्बुका ५२, हुम्लाका ३, दैलेखका ६, मोरङका २, रोल्पाका २५, बाँकेका १७, दार्चुलाका ३, कञ्चनपुरका २६, बझाङका २ र गुल्मीका ५ जनाको विवरण सूचनामा उल्लेख छ।
विदेशी बेपत्तामध्ये भारतका २१३ र चीनका ८५ जना रहेका छन्। त्यसैगरी अमेरिकाका ६९, बेलायतका ३२, क्यानडाका २७, सिंगापुरका ९, दक्षिण अफ्रिकाका ६, फ्रान्सका ४, हंगेरीका २, बेल्जियमका २, कजाकस्तानका २ र बेलारुसका १ जनाको विवरण समावेश गरिएको छ।
प्राधिकरणले बेपत्ता नेपाली नागरिकको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्राधिकरणको इमेल ठेगाना ndr [email protected] मा दाबी पेश गर्न सकिने जनाएको छ। विदेशी नागरिकका सम्बन्धमा भने परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागमा सम्पर्क गर्न आग्रह गरिएको छ।
साथै, बेपत्ता स्वदेशी तथा भारतीय नागरिकको विवरण प्राधिकरणको वेबसाइट https://setu.ndrrma.gov.np/missing/ मार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।
प्राधिकरणका अनुसार प्राप्त विवरणमाथि आवश्यक प्रक्रिया पूरा भएपछि थप सूचना सार्वजनिक गरिनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।