काठमाण्डौ । संखुवासभा र भोजपुरको सीमावर्ती क्षेत्रमा निर्माणाधीन ४७.१ मेगावाट क्षमताको गुराँस हाइड्रोपावर आयोजनाको निर्माण प्रगति ५० प्रतिशत नाघेको छ।
गुराँस हाइड्रो लिमिटेडले निर्माण गरिरहेको उक्त आयोजनाको प्रस्तावित कुल लागत ८ अर्ब २० करोड रुपैयाँ रहेको छ। सङ्खुवा खोलाको पानी उपयोग गरी विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको आयोजनाको निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको कम्पनीले जनाएको छ।
आयोजनाको हेडवर्क्स संखुवासभाको साल्पासिलिचोङ गाउँपालिकाको वडा नम्बर १, २ र ३ अन्तर्गत बुधबारे क्षेत्रमा निर्माण भइरहेको छ। सङ्खुवा र सिसुवा खोलाको संगमस्थलमा बाँध निर्माण गरी करिब ६ हजार ४०० मिटर लामो सुरुङमार्फत पानी विद्युत्गृहसम्म पुर्याउने संरचना तयार पारिँदै छ।
विद्युत्गृह भने भोजपुरतर्फको बेखुवा क्षेत्रमा निर्माण भइरहेको छ। विद्युत् उत्पादनपछि प्रयोग भएको पानी अरुण नदीमा छोड्ने गरी आयोजनाको संरचना डिजाइन गरिएको छ।
प्रभावित ४२२ परिवार बने संस्थापक सेयरधनी
आयोजनाले प्रभावित क्षेत्रका ४२२ परिवारलाई संस्थापक सेयर उपलब्ध गराएको छ।
कम्पनीका अनुसार स्थानीय प्रभावित परिवारलाई न्यूनतम १ लाखदेखि अधिकतम ५ लाख रुपैयाँसम्मको संस्थापक सेयर प्रदान गरिएको हो।
कम्पनीका कार्यकारी अध्यक्ष शिवप्रसाद घिमिरेले आयोजित एक समारोहमा प्रभावित परिवारलाई सेयरसम्बन्धी प्रमाणपत्र हस्तान्तरण गरेका छन्।
कार्यक्रममा घिमिरेले आयोजना निर्माणमा स्थानीय समुदायको सहयोग र सहभागिता महत्वपूर्ण रहेको बताए।
उनले आयोजनाले राष्ट्रिय विद्युत् उत्पादनमा योगदान पुर्याउनुका साथै स्थानीय बासिन्दालाई आयोजनासँग आर्थिक रूपमा जोड्ने अवसरसमेत सिर्जना गरेको उल्लेख गरे।
निर्माणमा करिब ७०० जनाको संलग्नता
गुराँस हाइड्रो आयोजनाको निर्माण कार्यमा हाल करिब ७०० जना जनशक्ति संलग्न रहेको कम्पनीले जनाएको छ।
यसमा प्राविधिक, निर्माण कर्मचारी, सुरक्षाकर्मी तथा नेपाल प्रहरी र नेपाली सेनाका जनशक्तिसमेत समावेश छन्।
आयोजना निर्माणसँगै स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना हुनुका साथै व्यापार, यातायात तथा अन्य आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव परेको कम्पनीको भनाइ छ।
आधा भन्दा बढी निर्माण सम्पन्न भइसकेको आयोजनाले बाँकी कामलाई थप तीव्रता दिँदै विद्युत् उत्पादनको लक्ष्य हासिल गर्ने तयारी गरिरहेको छ।
आयोजना सञ्चालनमा आएपछि राष्ट्रिय विद्युत् प्रणालीमा थप ४७.१ मेगावाट जडित क्षमता थपिनेछ।
कम्पनीले आयोजना सञ्चालनपछि संखुवासभा र भोजपुरको स्थानीय अर्थतन्त्र, रोजगारी तथा समग्र ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।