काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आजदेखि थप सार्वजनिक निष्कासन(एफपीओ) गर्दैछ। संस्थाले कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता एफपीओ सेयर निष्कासन गर्न लागेको हो।
साविकको सूर्योदय र वोमी लघुवित्त मर्ज भई बनेको यो संस्थाको कुल चुक्तापूँजी ९१ करोड ७ लाख ८२ हजार ५०८।५० रुपैयाँमा संस्थापक सेयरधनीको स्वामित्व ७०।३६ प्रतिशत र सर्वसाधारण समूहको स्वामित्व २९.६४ प्रतिशत रहेकाले सर्वसाधारणतर्फको हिस्सा बढाई ३० प्रतिशत पुर्याउनका लागि संस्थाले एफपीओ जारी गर्न लागेको हो ।
राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गर्दा दिएको निर्देशनबमोजिम कुल जारी पूँजीको कम्तिमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले संस्थाले सर्वसाधारणमा एफपीओ जारी गर्न लागेको जनाएको छ ।
एफपीओको निष्कासन बन्द छिटोमा साउन ८ गते र ढिलोमा साउन १८ गते बैंकिङ समयपछि हुनेछ । एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
एफपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ नेपालले संस्थालाई ‘केयर एनपी बीबी (आइएस)बडल बी इस्योर रेटिङ प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।