काठमाण्डौं । दोस्रो बजारमा केही लो क्याप कम्पनीको मूल्यलाई मनपरी बढाएर सेयरका खेलाडीहरुले नाङ्गो नाच देखाइरहेका छन् । दैनिकजसो अस्वभाविक र अप्राकृतिक रुपमा कर्नरिङ गरी ती कम्पनीको सेयरमूल्य रकेटको गतिमा उडाइँदा समेत नियामक भने तै चूप मै चूप देखिएका छन् । दैनिक कर्नरिङ गरी केही गुणा मूल्य बढाइएका कम्पनीहरुमा सोझासाझा लगानीकर्ताहरुले समेत लगानी फसाइरहेका छन् । यस्ता कम्पनीको मूल्य अस्वभाविक बढोत्तरीपछि निकै माथि पुगेकाले खेलाडी बिक्री गरेर बाहिरिए लहै–लहैमा लगानी गर्नेहरुको बिजोग हुने अवस्था देखिएको छ ।
पछिल्लो समय सीएचडीसी हाइड्रो, समाज लघुवित्त र नेपाल फाइनान्समा खेलाडीहरुले तीव्र चलखेल गरिरहेका छन् । लो क्यापका यस्ता कम्पनीको मूल्यमा दैनिकजसो जादूमयी उछाल ल्याउने काम भइरहेको छ । कारोबारको अन्तिम समयको केही सेकेण्डमा यस्ता कम्पनीको मूल्य उचाल्ने काम खुलेआम भइरहेको छ । दिउँसो २ बजेर ५९ मिनेटसम्म मूल्य घटेका यस्ता कम्पनीको मूल्य बजार बन्द हुँदा केही सेकेण्डको खेलका कारण पोजिटिभ सर्किट लाग्ने गरेको छ ।
विगत केही दिनदेखि नेपाल फाइनान्सको सेयरमूल्यमा अन्तिम केही सेकेण्डमा यस्तै खेल भइरहेको छ । यो कम्पनीको सेयरभाउ २०८० चैत्र २१ गते प्रतिकित्ता ३७५ रुपैयाँमा सीमित थियो । आज(मंगलबार) नेप्से बन्द हुँदा यो कम्पनीको अन्तिम कारोबार मूल्य १७९२ रुपैयाँको उचाईमा पुगेको छ । आजै पनि अन्तिम ३ सेकेण्डभित्र मूल्य घटेको यो कम्पनी बजार बन्द हुँदा पोजिटिभ सर्किट लागेको थियो । हिजो पनि यसैगरी पोजिटिभ सर्किट लगाइएको थियो ।
आजै पनि अन्तिम ३ सेकेण्डभित्र मूल्य घटेको यो कम्पनी बजार बन्द हुँदा पोजिटिभ सर्किट लागेको थियो । हिजो पनि यसैगरी पोजिटिभ सर्किट लगाइएको थियो ।
नेपाल फाइनान्सको सेयरमूल्य ४ महिनाको अवधिमा ३७७.८५ प्रतिशतले बढाइसकिएको छ । यो समयमा नेप्से परिसूचक भने जम्मा ३७.१९ प्रतिशतले मात्र बढेको छ । यो अवधिमा फाइनान्स उपसमूहको वृद्धिदर पनि ४० प्रतिशत हाराहारीमा रहेको छ । समग्र नेप्से र फाइनान्स समूहको वृद्धिदरको औसतभन्दा नेपाल फाइनान्सको बढोत्तरी अस्वभाविक र अप्राकृतिक देखिन्छ ।
यो कम्पनीको सेयरमूल्यमा एउटा समूहले दैनिकजसो खेल खेल्ने गरेको छ । सर्टटर्ममा प्रतिकित्ता रु. २००० मूल्य पुर्याउने र लङटर्ममा मूल्य ५००० पुर्याउने घोषणा गर्दै दैनिकजसो कर्नरिङ गरी मूल्य अस्वभाविक बढाइएको छ ।
यस्तै, बजारमा अर्को तीब्र बढोत्तरी भएको कम्पनी हो सीएचडीसी सिम्बोल भएको सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी । यस कम्पनीको सेयरभाउ पनि गत बर्ष चैत्र २१ गते ६४१ रुपैयाँ रहेको थियो । यस चार महिनाको अवधिमा यस कम्पनीको सेयरभाउ १६४९ रुपैयाँ पुगेको छ । यस हिसाबले यस कम्पनीको सेयरमूल्य १५७ प्रतिशतले बढेको छ । *इन्भेष्टमेन्ट समूहको उपसमूह यो अवधिमा ३१ प्रतिशत हाराहारीमा मात्र वृद्धि भएको छ । समूहको औसत बढोत्तरी ३१ प्रतिशत रहेकोमा यो कम्पनीमा भने खेलाडीहरुले खेलेका कारण बिनाकारण १५७ प्रतिशतले मूल्य बढेको देखिएको हो ।
खेलाडीहरुले लाज नै लजाउने गरी नाङ्गो नाच चलाएको अर्को कम्पनी हो समाज लघुवित्त वित्तिय संस्था । यस कम्पनीको सेयरभाउ त ६ महिनाको अवधिमा पत्याइनसक्नु गरी बढाइएको छ । एउटा समूहले नियोजित रुपमा यो कम्पनीको सेयरमूल्यलाई निकै माथि पुर्याएको छ। २०८० साल पौष २४ मा यो कम्पनीको दोश्रो बजारमूल्य प्रतिकित्ता २१७ रुपैयाँमा सीमित थियो । आज(मंगलबार) यस कम्पनीको अन्तिम बिक्रीमूल्य प्रतिकित्ता २९२० रुपैयाँ रहेको छ । यस हिसाबले यस कम्पनीको सेयरमूल्य जम्मा ६ महिनामा चलखेल गरी १२४५ प्रतिशतले बढाइएको छ । माइक्रोफाइनान्स उपसमूहको सूचक यो अवधिमा ४० प्रतिशत मात्र बढेको छ । यसरी हेर्दा इण्डष्ट्री एभरेज र नेप्सेकै एभरेज बढोत्तरीको तुलनामा यो कम्पनीमा अपत्यारिलो बढोत्तरी गराइएको छ ।
बित्तीय सूचक दयनीय, मूल्य चाहिँ आगो !
कुनै पनि कम्पनीको मूल्य उछालकै गतिमा बढ्नसक्छ, तर त्यसको निश्चित कारण चाहिन्छ । कि त कम्पनीले त्यो अवधिमा अचाक्ली राम्रो वित्तीय प्रदर्शन गरेको हुनुपर्छ । वा, त्यस्ता खास–खास कम्पनीले लगानीकर्ताले सोच्दै नसोचेको लाभांश बाँडेको, वित्तीय सूचकमा रातारात चमात्कारिक प्रगति गरेको वा यस्तै भरपर्दो कारणले पनि मूल्य उछालको गतिमा दौडिनसक्छ । तर, माथि उल्लेख गरिएका तीनवटै कम्पनीको मूल्य जुन अवधिमा बढाइएको छ, त्यस अवधिमा ती कम्पनीसँग सम्बन्धित चमात्कारिक खबर वा प्रगति केही पनि छैन । न वित्तीय सूचकमा आमूल सुधार आएको छ, न त अन्य ठूलो कारण नै केही छ । फगत केही समूहको पैसामोहका कारण र थोरै कित्ता सूचीकृत भएका कारण खेलाई–खेलाई मूल्य बढाएर सोझालाई भिडाउने र अन्तिममा आफू फुत्किने खेल मात्र भइरहेको छ ।
वित्तीय रुपमा यी कम्पनी कुनै टाट पल्टिएर भर्खरै तङ्ग्रिदै गरेका र केहीको मुख्य सूचक नै नेगेटिभ रहेका छन् । नेपाल फाइनान्सको प्रतिसेयर आम्दानी एकरुपैयाँ भन्दा तल छ । खराब कर्जा पनि ९ प्रतिशतभन्दा बढी रहेको छ । यो कम्पनी केही महिनाअघि मात्र संकटग्रस्तबाट बाहिर निस्किएको हो । यसका अन्य मुख्य वित्तीय सूचकहरु अझै पनि दयनीय नै छन् ।
दोश्रो बजारमूल्य १६०० माथि रहेको सिएचडीसीको प्रतिसेयर आम्दानी जम्मा १३ रुपैयाँ रहेको छ । यो कम्पनीको रिटर्न अन इक्विटी(आरओई) जम्मा ७.७६ प्रतिशत छ । यो कम्पनीको पनि मूल्यमा उछाल आउनुपर्ने बलिया केही पनि कारण छैनन् खेलाडीको खेलबाहेक ।
समाज लघुवित्त वित्तीय संस्थाको प्रतिसेयर आम्दानी त १३.४१ रुपैयाँले नेगेटिभ रहेको छ । यस कम्पनीको रिर्टन अन इक्विटी ६.८६ प्रतिशत नेगेटिभ रहेको छ । यस्ता मुख्य वित्तीय सूचक नै नेगेटिभ रहेको यो कम्पनीको मूल्य भने रकेटको गतिमा उडिरहेको छ बिनालगाम ।
यता, समाज लघुवित्त वित्तीय संस्थाको प्रतिसेयर आम्दानी त १३.४१ रुपैयाँले नेगेटिभ रहेको छ । यस कम्पनीको रिर्टन अन इक्विटी ६.८६ प्रतिशत नेगेटिभ रहेको छ । यस्ता मुख्य वित्तीय सूचक नै नेगेटिभ रहेको यो कम्पनीको मूल्य भने रकेटको गतिमा उडिरहेको छ बिनालगाम ।
यस्ता केही कम्पनीको मूल्यमा भइरहेको नाङ्गो नाच र लगानीकर्तालाई फसाउने गरी केही खेलाडीले चलाएको जूवाको धन्दालाई बिर्साउने खालको खेलको विषयमा बजारको प्रमुख नियामक धितोपत्र बोर्ड मौन देखिन्छ । फ्रन्टलाइन रेगुलेटर नेप्सेका अधिकारी त चलखेल गर्ने खेलाडीहरुसँगै मिलेर पैसा कमाउने धन्दामा लिप्त रहेका संगीन आरोप लगानीकर्ताहरुले नै लगाउने गर्छन् ।
उदाहरणको रुपमा प्रस्तुत गरिएका यी तीन कम्पनीमा भएको चलखेल वा अन्यमा समेत देखिएको सोही खालको प्रवृति नियन्त्रणको विषयमा नेपाल धितोपत्र बोर्डको धारणा बुझ्न खोज्दा प्रवक्ता नवराज अधिकारीले उजूरी परेको खण्डमा अनुसन्धान गरिने र दोषीमाथि कारबाही हुने जवाफ दिए ।
सच्याइएको:यसअघिको समाचारमा 'इन्भेष्टमेन्ट समूहको उपसूचक यो अवधिमा ३१ प्रतिशत हाराहारीमा मात्र वृद्धि भएको' हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।