काठमाण्डौ। विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता बढाउने भएको छ। बिहीबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने बताए।
उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वृद्धि लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिए। विश्व बैंकबाट गत आर्थिक वर्ष बजेटरी सहायताका रूपमा नेपाललाई २०५ मिलियन अमेरिकी डलर प्राप्त भएको थियो।
नेपालमा स्थिर सरकार गठन भएकाले थप लगानीका लागि वातावरण तयार भएको उल्लेख गर्दै आयोजनाहरू समयमा सम्पन्न गर्न आवश्यक सहकार्य गर्दै अघि बढ्ने अर्थमन्त्री पौडेलको भनाइ छ।