काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा व्यापक गिरावट आएको छ । आज नेप्से परिसूचक ३.८६ प्रतिशत अर्थात १११.९६ अंकले घटेर २ हजार ७८२.६० विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४.४० प्रतिशतले घटेर ४९६.४७ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३० वटा स्क्रिप्टको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता सेयर १८ अर्ब ६४ करोड ९४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्, ‘बजारमा केही नकारात्मक समाचार आउँदा आज प्यानिक सेल आएको छ । यद्यपी बढेको बजारमा केहीले नाफा बुक गरेका कारण पनि बिक्री दबाब परेको छ ।’
केही किन्न छुटेका र नाफा बुक गरेका लगानीकर्ताले सुनियोजित रुपमा बजार घटाएको आरोप रौनियारले लगाए । यद्यपी सरकारको खुकुलो नीति र बैंकको सस्तो ब्याजदरका कारण बजार मजबुत नै रहेको उनले दाबी गरे ।
अर्का बजार जानकार अजयसिंह थापा(जयशम्भु)का अनुसार अहिले बजारमा धेरै नयाँ लगानीकर्ता बजार प्रवेश गरेको र उनीहरु खरिद र बिक्रीमा आक्रामक बनेका कारण बजारमा उच्च अंकको घटबढ भएको देखिन्छ । ‘प्राविधिक रुपमा पनि बजार फिवोनासीको ०.३८ प्रतिशतसम्म करेक्सन हुन्छ भने त्यसलाई स्वभाविक करेक्सन मान्न सकिन्छ ।’
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये १ वटा बाहेक अन्य सबैमा समूहमा रातो पोतियो । आज होटल समूह मात्रै ०.४३ प्रतिशतले बढ्यो ।
आज बैंकिङ समूहमा सर्वाधिक अर्थात ४.९२ प्रतिशतको गिरावट आयो । यस्तै आज विकास बैंक समूह ४.१८ प्रतिशत,वित्त ४.६९, हाईड्रो ३.९६,लगानी ४.१३,जीवन बीमा ३.६५,उत्पादन तथा प्रशोधन २.९३,लघुवित्त २.९६,म्युचुअल फण्ड १.०९,निर्जीवन बीमा २.४५, अन्य ३.८५ र व्यापार समूह २.१६ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ६५ करोड ४२ लाख बढीको सेयर कारोबार भयो । यस्तै अपि पावरको ५१ करोड ७५ लाख,अरुण भ्याली हाईड्रोपावर ४५ करोड ६३ लाख,नेपाल फाइनान्सको ४१ करोड ५५ लाख र निफ्राको ३३ करोड ४६ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज तारागाँउ रिजेन्सी, आरम्भ चौतारी लघुवित्त, दोल्ती पावर र थ्रि स्टार हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
यस्तै आज कर्णली डेभलपमेन्ट बैंकको सेयरमूल्य ९.४५ प्रतिशत, विन नेपाल लघुवित्त ६.९७ प्रतिशत र माथिल्लो मैलुङ खोला जलविद्युतको सेयरमूल्य ४.५५ प्रतिशतले बढ्यो ।
यो दिन नेपाल फाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । रिडी पावरको सेयरमूल्य आज ८.५८ प्रतिशत,नेशनल हाईड्रोको ७.६७ र शिवश्री हाईड्रोको सेयरमूल्य ७.४८ प्रतिशतले घट्यो ।