काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.१५ प्रतिशत अर्थात ५६.०९ अंकले बढेर २ हजार ६५३.५८ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.०८ प्रतिशतले बढेर ४७६.४६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा स्क्रिप्टको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता सेयर ६ अर्ब १३ करोड ८२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार सुमन कुमार रिजाल भन्छन्, ‘आजसम्म सेयर बेचेकाले आफ्नो खातामा पैसा पाउने अवस्था थियो । तैपनि आज बजारमा खरिद दबाब देखियो । यसले अबको ३ दिन बजार बढ्न सक्ने देखिन्छ । प्राविधिक रुपमा पनि आज बजारले हायर हाई बनाएको छ ।’
रिजालले प्राविधिक विश्लेषण गर्दै आजको बजारमा एबीसी करेक्सन सकिएको र इम्पलसिभ वेभ चल्दा बजार ३४ सय विन्दुसम्म पुग्न सक्ने दाबी गरे ।
अर्का बजार जानकार उपेन्द्र पाठकले पनि दशैं र असोज मसान्तको दबाद बजारमा नरहेको बताए । ‘आगामी दिनमा अहिलेको दरमा सेयर नपाउने आँकलनले खरिदकचर्ता हाबी भएको देखिन्छ । बेस रेटमा कर्जा पाइएका कारण र प्रथम त्रैमासिक प्रतिवेदन राम्रो आउने देखिएकाले भोलिबाट बजारले झनै गति लिन सक्छ । ’
पाठकका अनुसार आजको बढोत्तरीले दशैंलाई सुखद् स्वागत गरेको छ ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमै हरियाली छायो । आज फाइनान्स समूहमा सर्वाधिक वृद्धि देखियो । यो समूह आज ६.३० प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह २.२६ प्रतिशत, विकास बैंक २.२२,वित्त ६.३०,होटल १.७१,हाईड्रो २.७३,लगानी १.९९,जीवन बीमा १.३४,उत्पादन तथा प्रशोधन ३.१२,लघुवित्त १.४७,म्युचुअल फण्ड ०.१८,निर्जीवन बीमा १.४९,अन्य १.६२ र व्यापार समूह ०.९० प्रतिशतले बढ्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन साहस उर्जा लिमिटेडको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ६३ करोड ८३ लाख बढीको सेयर कारोबार भयो । यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको २५ करोड ५७ लाख ,नेपाल फाइनान्सको १५ करोड ९९ लाख,गूडविल फाइनान्सको १५ करोड १३ लाख र एशियन लाइफ इन्स्योरेन्सको प्रोमोटर सेयरको १४ करोड ५७ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज न्यादी हाईड्रो,मध्य भोटेकोशी जलविद्युत र इष्टर्न हाईड्रोपावरको सेयरमूल्यमा अपर सर्किर्ट लागेको छ ।
यस्तै गुडविल फाइनान्सको सेयरमूल्य ९.२७ प्रतिशतर सिनर्जी डेभलपमेन्ट पावरका सेयरमूल्य ८.१४ प्रतिशतले बढ्यो ।
विन नेपाल लघुवित्तको सेयरमूल्य आज सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले घट्यो ।