काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.४० प्रतिशत अर्थात ११.२४ अंकले घटेर २ हजार ७४८.९६ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३९ प्रतिशतले घटेर ४८८.७८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर ७ अर्ब ८५ करोड ९७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको कारोबार हिजोको तुलनामा कम हो । अघिल्लो दिन ११ अर्ब बढीको कारोबार भएको थियो ।
आजको बजारबारे बजार जानकार विरेन्द्र विष्ट भन्छन्, ‘आजको बजारको घटाईलाई सामान्य नाफा बुकको रुपमा लिन सकिन्छ । लगानीकर्ता मौद्रिक नीतिको समीक्षाको पर्खाईमा छन् ।’
बजारमा ८ खर्ब बढीको तरलता रहेकाले राष्ट्र बैंकले बजारमैत्री नीति ल्याउने विष्टले अपेक्षा गरे ।
अर्का बजार जानकार टेकेन्द्र थपलियाले पनि आजको बजारलाई नाफा बुकको रुपमा व्याख्या गरे । उनका अनुसार बजार घट्दा कारोबार घट्नु स्वभाविक हो । यस्तै उनले बजारले एक दुई दिनको कारोबारपछि फेरि लय समात्ने दाबी गरे ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज फाइनान्स समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज १.१२ प्रतिशतले बढेर ३ हजार ६१३ विन्दुमा पुग्यो ।
यस्तै आज निर्जीवन बीमा समूह ०.१३ र व्यापार समूह ०.३५ प्रतिशतले घट्यो ।
यो दिन अन्य समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज १.१८ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.३५ प्रतिशत, विकास बैंक ०.३१, होटल ०.१५,हाईड्रो ०.५७,लगानी ०.३५,जीवन बीमा ०.४४,उत्पादन तथा प्रशोधन ०.०२,लघुवित्त ०.६७ र म्युचुअल फण्ड ०.१३ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन गूडविल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २९ करोड २८ लाख बढीको कारोबार भयो । वेष्ट फाइनान्सको आज २९ करोड २५ लाख,आँखुखोला जलविद्युत २५ करोड ५९ लाख,जानकी फाइनान्सको २० करोड ५९ लाख र पिपुल्स पावरको १९ करोड ३३ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज गुराँस लघुवित्त, मेन्छियाम हाईड्रो,वेष्ट फाइनान्स र एनएलजी इन्स्योरेन्सको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
यस्तै समृद्धि फाइनान्स ९.६१ प्रतिशत, समाज लघुवित्त ७.२५ र सपोर्ट माईक्रोफाइनान्सको सेयरमूल्य ७.२२ प्रतिशतले बढ््यो ।
यो दिन गूडविल फाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात ९.३६ प्रतिशतले घट्यो । आँखुखोला जलविद्युतको सेयरमूल्य पनि आज ४.९१ र माछापुच्छ्रे बैंकको सेयरमूल्य ४.५९ प्रतिशतले घट्यो ।