काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३६ प्रतिशत अर्थात ९.९९ अंकले बटेर २ हजार ७३८.०६ विन्दुमा खुम्चिएको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८८ प्रतिशतले घटेर ४७३.३० विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको १ करोड ६७ लाख ६७ हजार १६८ कित्ता सेयर ८ अर्ब ८३ करोड २२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार विरेन्द्र विष्ट भन्छन्, ‘राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो समीक्षापश्चात लगानीकर्ताले आज बजारमा ५०–६० अंकको गिरावटको अपेक्षा गरेका थिए । तर बजारमा त्यसको केही पनि देखिएन । बजार आज ठूलो अंकले नघट्नुमा तरलताले काम गरेको छ ।’
विष्टले आगामी दिनमा लो क्याप भएका कम्पनी चल्ने र सबै पक्ष सकारात्मक भएकाले बजारले हल टाइम हाईको विन्दु तोड्ने विष्ले बताए ।
त्यस्तै अर्का बजार जानकार उपेन्द्र पाठकले पनि लगानीकर्ताले मौद्रिक नीतिको समीक्षामा केही परिवर्तन नहुँदा बजारमा आज गिरावटको आशा गरेको तर बजारमा त्यस्तो ठूलो प्रभाव नपरेको बताए । ‘अहिले बजारमा लगानी अन्य विकल्पहरु नभएकाले सेयर बजारमा थप लगानी भित्रिने देखिन्छ । जसका कारण आगामी दिनमा बजार सकारात्मक नै हुने देखिन्छ ’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज व्यापार समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ९.०७ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह ४.५२ र होटल समूह ०.३० प्रतिशतले बढ्यो ।
आज फाइनान्स समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज २.९६ प्रतिशतले घट्यो । बैंकिङ समूह आज १.४७ प्रतिशत,हाईड्रो १.१४,लगानी १.१५,जीवन बीमा १.३५,उत्पादन तथा प्रशोधन ०.५७,लघुवित्त ०.९२,म्युचुअल फण्ड ०.२३,निर्जीवन बीमा ०.०१ र अन्य समूह १.३५ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन एक्सेल डेमलपमेन्ट बैंकको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३४ करोड ३१ लाख बढीको कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चरको आज २८ करोड ९० लाख,नेपाल फाइनान्सको २८ करोड ६ लाख,मितेरी डेभलपमेन्ट बैंकको २७ करोड ३० लाख र ङादी ग्रुप पावरको २४ करोड ३० लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ६ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज विशाल बजार,कर्पोरेट डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक,ग्रिन डेभलपमेन्ट बैंक,सप्तकोशी डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
यस्तै सपोर्ट माईक्रोफाइनान्सको सेयरमूल्य ९.४३ प्रतिशत,मितेरी डेभलपमेन्ट बैंकको ७.६६ र इमिर्जिङ नेपालको सेयरमूल्य ७.५० प्रतिशतले बढ्यो ।
आज जानकी फाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । नेपाल फाइनान्सको सेयरमूल्य पनि ९.१५ प्रतिशत,उपकार लघुवित्तको ५.४२ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेशनको सेयरमूल्य ४.६४ प्रतिशतले घट्यो ।