काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.६४ प्रतिशत अर्थात १७.८० अंकले बढेर २ हजार ७७५.८५ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१२ प्रतिशतले घटेर ४७१.२१ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०७ वटा स्क्रिप्टको १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता सेयर ८ अर्ब ५२ करोड १२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार प्रकाश रजौरे भन्छन्,‘बजारमा अहिले एक्युमुलेशन चलिरहेको छ र बजारले नयाँ उचाईका लागि शक्ति सञ्चय गरेजस्तो देखिन्छ । सरकारका नीतिहरु पनि विस्तारै खुकुलो हुने बाटोमा छन् । ’
रजौरेले अहिले बजारमा सबै कुरा सकारात्मक नै भएकाले लगानी गर्न डराउनु नपर्ने बताए । ‘घट्दो ब्याजदर र सहज तरलता बजार बढ्ने आधार हुन् । यसका साथै वियरिस चक्रको अन्त्य भएकाले अब बजार छिटै नै अल टाइम हाईमा पुग्न सक्छ,’ उनले भने ।
अर्का बजार जानकार दामोदर गजुरेलले पनि हिजोआजको बजारको बढोत्तरीले मौद्रिक नीतिको समीक्षालाई कुरेका लगानीकर्ता पनि बिस्तारै बजार प्रवेश गरेको बताए । ‘विशेष गरी अहिले मध्यम र दीर्घकालको लगानीका लागि डराउनु पर्ने अवस्था छैन । प्राविधिक रुपमा पनि बजारले २७८० देखि २७८५ मा धेरैपटक प्रतिरोधको सामना गरेको देखिन्छ । यो भनेको केही ट्रेडरहरु पर्ख र हेरको अवस्था रहेको हो’ उनले भने ।
यस्तै उनले प्राविधिक रुपमा मनी फ्लो इन्डेक्सले बजारमा बिस्तारै स्मार्ट मनीको प्रवेश भएको संकेत गरेको दाबी गरे ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटा समूहमा हरियाली छाउदा अन्य ६ वटामा रातो पोतियो । आज व्यापार समूह सर्वाधिक अर्थात ५.९६ प्रतिशतले बढ्यो । यस्तै फाइनान्स समूह १.३९,हाईड्रो १.८५,जीवन बीमा १.५२,उत्पादन तथा प्रशोधन ०.०६,म्युअुअल फण्ड ०.३७ र अन्य समूह ०.२७ प्रतिशतले बढ्यो ।
होटल समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज १.७१ प्रतिशतले घट्यो । बैंकिङ समूह ०.१९ प्रतिशत,विकास बैंक ०.३७,लगानी ०.४१,लघुवित्त ०.३२ र निर्जीवन बीमा ०.५२ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २६ करोड ७४ लाख बढीको कारोबार भयो । जानकी फाइनान्सको आज २६ करोड ५१ लाख,वेष्ट फाइनान्सको २४ करोड ६ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको २३ करोड ८७ लाख र एनआईसी एशिया बैंकको १७ करोड २५ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ६ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज दिव्यश्वरी हाईड्रोपावर,इङ्गुवा हाईड्रोपावर,खानीखोला हाईड्रोपावर,जोशी हाईड्रोपावर,सुपरमादी हाईड्रो र एलआईसी नेपालको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
यस्तै ङादी ग्रुप पावरको सेयरमूल्य पनि ८.६५ प्रतिशत,शिवश्री हाईड्रोपावरको ८.१२ र छ्याङदी हाईड्रोको सेयरमूल्य ७.३० प्रतिशतले बढ्यो ।
यो दिन अपर स्याङ्गे हाईड्रोपावरको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो । यो कम्पनीको सेयरमूल्य आज ९.५१ प्रतिशतले झर्यो । जानकी फाइनान्सको सेयरमूल्य ६.१८ प्रतिशत,गुराँस लघुवित्तको ३.४६ र युनिक नेपाल लघुवित्तको सेयरमूल्य ३.४६ प्रतिशतले घट्यो ।