काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.५७ प्रतिशत अर्थात १५.९३ अंकले घटेर २ हजार ७३४.९३ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०७ प्रतिशतले घटेर ४६४.०१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०७ वटा स्क्रिप्टको १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता सेयर ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘पछिल्लो समय सेयर बजार निकै तल र निकै माथि पनि जान सकिरहेको छैन । आज बजार घटेतापनि ८ अर्ब माथिको कारोबार हुनुलाई राम्रै मान्न सकिन्छ । ’
गजुरेलले पछिल्लो समय बजारमा साना पूँजी भएका कम्पनीहरुको सेयरमूल्य उचालिएको र यस कारण बजार केही समय साइडवेज चल्न सक्ने बताए । ‘केही सेक्टरका कम्पनीका रिपोर्टहरु राम्रो नआएका बजार माथि जान सकिरहेको छैन’, उनले भने ।
अर्का बजार जानकार मुक्ति बहादुर खत्रीले आजका बजार नाफा बुकका कारण घटेको बताए । ‘प्राविधिक रुपमा हेर्दा बजारले अझैपनि २७८० विन्दुको रेसिस्टेन्ट ब्रेक गर्न सकेको छैन । प्राविधिक विश्लेषकहरुले बजार २७३० विन्दुमाथि हुनुलाई राम्रै मानेका छन् । त्यसकारण डराउनु पर्ने कुनै कारण छैन,’ उनले भने, ‘लगानीकर्ता अझै पनि गुड न्यूजको प्रतिक्षामा छन् । व्यक्तिगततर्फको क्याप हेटपछि बजारमा ठूलो लगानी आउन सक्छ ।’
यस्तै उनले बजारमा ठूला लगानीकर्ताको प्रवेश भए मात्रै बजारले गति लिने दाबी गरे ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज व्यापार समूह ३.६७ र जीवन बीमा ०.७९ प्रतिशतले बढ्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४२ करोड १९ लाख बढीको कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चरको आज २९ करोड ३ लाख, एलआईसी नेपालको २० करोड ८७ लाख,रसुवागढी हाईड्रोको २० करोड ११ लाख र जानकी फाइनान्सको १३ करोड ९८ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज खानीखोला हाईड्रो,सुपर मादी हाईड्रोपावर र मानुषि लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
यस्तै आज एलआईसी नेपालको सेयरमूल्य ७.९९ प्रतिशत,सामुदायिक लघुवित्तको ५.८३ र तमोर मिडिल हाईड्रोको सेयरमूल्य ५.४९ प्रतिशतले बढ्यो ।
यो दिन सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य ८.३७ प्रतिशतले घट्यो । नेपाल फाइनान्सको सेयरमूल्य ७.१५ प्रतिशत,गुराँस लघुवित्तको ६.५२ र तारागाँउ रिजेन्सीको सेयरमूल्य ६.१० प्रतिशतले घट्यो ।